पप्पु गुरुङ्ग, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगर बस्तीमा माईती नेपाल कञ्चनपुरले किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानुनी अनुशिक्षण प्रदान गरेको छ् । नेपाल–भारत सिमा संग जोडिएको सुन्दरनगर बस्तीका समुदायका किशोरीहरुलाई समेट्ने गरी प्रशिक्षित गरिएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । विशेष गरि महिला, बालबालिका तथा कमजोर वर्गलाई लक्षित गरि हुने बेचबिखन रोकथाम गर्न आवश्यक देखिएकाले कानुनी अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।


सामाजिक सञ्जाल तथा मोबाइल फोनको दुरुपयोगले विभिन्न समुदायमा बढ्दै गएकोले किशोर किशोरी र महिलालाई सम्भाव्य जोखिम बाट बचाउन बेलैमा जागरुक गराउनु पर्ने बताउदै संयोजक महेश्वरी भट्टले अशिक्षा, बेरोजगारी, प्रलोभन, देखासिकी, झुठा माया, प्रेम सम्बन्ध, मोबाईल फोन लगाएत सामाजिक सञ्जाल, फेसबुकको दुरुपयोग मानव बेचबिखनका आधारभूत कारण हुने गरेको बताउनुभयो । चेलीबेटी बेचबिखन विरुद्ध सचेतना फैलाउन अत्यन्त आवश्यक देखिएको समयमा माइती नेपालले सञ्चालन गरेको कार्यक्रम अर्थपुर्ण रहेको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओम प्रकाश रोकायाले बताउनुभयो ।

वडाध्यक्ष ओंम प्रकाश रोकायाले सिमा बस्ती सुन्दरनगरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानुनी अनुशिक्षण सञ्चालन गरेकोमा माईती नेपाल कञ्चनपुरलाई धन्यवाद दिदैं वडाध्यक्ष रोकायाले स्थानिय सरकार सधै सहकार्य र समन्वयमा काम गर्न गर्दै आएको बताउनुभएको छ् ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको परिभाषा ,बेचबिखन हुनुका कारण, यसको बदलिंदो स्वरुप, सम्भाबित जोखिम, दलालले अपनाउने हतकण्डा, प्रचलित कानुनी प्रावधान लगायत बाल यौनदुचार, बाल यौन दुव्र्यवहारका बारेमा सहभागिहरुलाई जानकारी गराईएको छ् ।










