अपाङ्गता भएका व्यक्तिका घरमै पुगेर ह्विलचेयर


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले शारीरिक अपाङ्गता भई हिँडडुल गर्न असहज भएका व्यक्तिहरूलाई घरमै पुगेर ह्विलचेयर वितरण गरेको छ ।
नगर उपप्रमुख कल्पना पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर ह्विलचेयर सहितका सहायक सामग्री वितरण गर्नु भएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री उपलव्ध गराउनु सामाजिक उत्तरदायित्वसँगै स्थानीय सरकारको दायित्व भएको बताउनुभयो ।

उहाँले ह्विलचेयरले अपाङ्गता भएका व्यक्तिको आवतजावत सहज हुने, आत्मनिर्भर जीवनयापनमा सहयोग पुग्ने र शिक्षा, स्वास्थ्य तथा सामाजिक गतिविधिमा सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो । “अपाङ्गता भएका व्यक्तिलाई दयाको होइन, अधिकारको दृष्टिकोणबाट हेर्नुपर्छ,” उहाँले भन्नुभयो, “नगरपालिकाले आगामी दिनमा पनि आवश्यकताका आधारमा यस्ता सहयोगलाई निरन्तरता दिनेछ ।” नगरपालिकाको रु. दुई लाख बजेट तथा ‘एनएनएसडब्लुए’ नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा ह्विलचेयर वितरण गरिएको छ ।

एनएनएसडब्लुएका कार्यक्रम संयोजक टेकबहादुर बुढाका अनुसार वडा नं. १, ५, ७, ९ र १० का पाँच जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर तथा एक जनालाई वैशाखी वितरण गरिएको छ । उहाँले लाभग्राहीको शारीरिक अवस्था र नापअनुसार ह्विलचेयर तयार गरी वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले व्यक्तिको आवश्यकता र शारीरिक बनोटअनुसार तयार गरिएका ह्विलचेयरले अपाङ्गता भएकाहरुको दैनिक जीवन सहज बनाउने, परिवारमाथिको निर्भरता घटाउने तथा घरभित्र र बाहिर स्वतन्त्र रूपमा आवतजावत गर्न सहयोग पुग्ने बताउनु भयो । ह्विलचेयर पाएपछि खुसी व्यक्त गर्दै वडा नं. ९ का शारिरिक अपाङ्गता भएका रामबहादुर सार्कीले यसअघि हिँडडुल गर्न परिवारका सदस्यको सहयोग लिनुपर्ने बाध्यता रहेको बताउनुभयो । “अब आफ्नै प्रयासमा घरआँगन र टोलसम्म जान सक्ने भएको छु,” उहाँले भन्नुभयो, “यसले अब सहज हुन्छ ।”

त्यसैगरी वडा नं. १० का गणेश ठगुन्नले आफूलाई आवश्यक परेको बेला बाहिर निस्कन निकै कठिन हुने गरेको उल्लेख गर्दै ह्विलचेयर पाएपछि स्वास्थ्य संस्था, सार्वजनिक सेवा तथा सामाजिक कार्यक्रममा सहभागी हुन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान गरी घरमै पुगेर सहयोग गरेकोमा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्ण, सहज र समावेशी जीवनयापन सुनिश्चित गर्न आवश्यक सहायक सामग्री वितरण, पुनःस्थापना तथा सामाजिक सहभागिता अभिवृद्धिका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । विगतका वर्षहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिको ह्विल चेयर सहितका सहायक सामग्री वितरण गरेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img