महेन्द्रनगर : भीमदत्त नगरपालिकाले उच्च शिक्षा अध्ययन गरिरहेका दलित छात्राहरूलाई अध्ययनमा सहजता ल्याउने उद्देश्यले साइकल वितरण गरेको छ । आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका छात्राहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित नगरपालिकाले ३७ जना दलित छात्रालाई साइकल हस्तान्तरण गरेको हो । शुक्रबार नगरप्रमुख पदम बोगटी ले छात्राहरूलाई साइकल वितरण गर्दै शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएको बताए ।

उनले भौगोलिक दूरी, आर्थिक अवस्था तथा यातायातको अभावका कारण धेरै छात्राहरूले अध्ययनमा विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उनीहरूलाई विद्यालय तथा कलेजसम्म नियमित रूपमा पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । साइकल प्राप्त गरेका छात्राहरूले नगरपालिकाको पहलप्रति खुशी व्यक्त गर्दै यसले विद्यालय तथा कलेज आउजाउ गर्न सहज हुने बताएका छन् ।

कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशी,वडाध्यक्षहरु, नगरपालिकाका कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले शिक्षा क्षेत्रमा नगरपालिकाले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा समेत यस्ता लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।







