कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहज, छिटो तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा सुरु गरेको छ । प्रशासन कार्यालयले राहदानी वितरण प्रक्रियालाई थप सरल, प्रभावकारी र आधुनिक बनाउन नयाँ व्यवस्था लागू गरेको हो । यस सेवाको सुरुवातसँगै अब राहदानी तयार भएपछि सेवाग्राही अनिवार्य रूपमा कार्यालयमै पुगेर बुझ्नुपर्ने बाध्यता हटेको छ ।

नयाँ व्यवस्थाअनुसार राहदानीका लागि आवेदन दिने क्रममा सेवाग्राहीले सम्बन्धित फारम भरेर हुलाकमार्फत राहदानी प्राप्त गर्ने विकल्प रोज्न सक्नेछन् । त्यसपछि राहदानी तयार हुँदा हुलाक सेवामार्फत सेवाग्राहीले उल्लेख गरेको ठेगानामै सुरक्षित रूपमा पठाइनेछ । जिल्ला प्रशासन कार्यालयले यो सेवा निःशुल्क रूपमा उपलब्ध गराउने जनाएको छ ।

सेवा विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि राहतपूर्ण हुने अपेक्षा गरिएको छ । समय अभाव, टाढाको यात्रा र कार्यालयसम्म पुग्नुपर्ने बाध्यताले राहदानी बुझ्न कठिन हुने सेवाग्राहीलाई यो व्यवस्थाले प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।
यसअघि राहदानी तयार भएपछि सेवाग्राही स्वयं कार्यालय पुगेर बुझ्नुपर्ने व्यवस्था रहेकाले लामो दूरी तय गर्नुपर्ने, लामो लाइनमा बस्नुपर्ने र समय खर्चिनुपर्ने समस्या हुँदै आएको थियो ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत यो सेवा विस्तार गरेको जनाएको छ । कार्यालयका अनुसार नागरिकको सुविधा र समयको बचतलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार गर्ने प्रयास जारी राखिएको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले प्रशासन कार्यालयले नागरिकलाई अझ सहज सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको बताए । उनले भने, “नागरिकलाई सरकारी सेवा सहज, छिटो र झन्झटरहित रूपमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो । राहदानी लिनकै लागि फेरि कार्यालयसम्म आउनुपर्ने अवस्था हटाउने उद्देश्यले हुलाकमार्फत घरमै पु¥याउने सेवा सुरु गरेका हौँ । यसले विशेषगरी टाढाका सेवाग्राहीलाई ठूलो राहत दिनेछ । आगामी दिनमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर थप सहज र प्रभावकारी सेवा विस्तार गर्दै जानेछौँ ।”






