राष्ट्रिय मावि पिपलाडीमा पूर्व विद्यार्थी सञ्जाल गठन

कृषि प्राविधिक शिक्षा अध्ययन गरेका पूर्व विद्यार्थीलाई विद्यालयसँग जोड्ने उद्देश्य


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा आज पूर्व विद्यार्थी सञ्जाल समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्रसिंह साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नरेन्द्रप्रसाद चौधरी रहनुभएको थियो । विद्यालयको प्राविधिक धार अन्तर्गत कृषि बाली विज्ञान विषय अध्ययन गरी विभिन्न क्षेत्रमा कार्यरत पूर्व विद्यार्थीहरूलाई एकीकृत गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययन पूरा गरी विभिन्न सरकारी सेवा तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहेका पूर्व विद्यार्थीलाई विद्यालयसँग जोड्दै हाल अध्ययनरत विद्यार्थीलाई अनुभव आदानप्रदान तथा मार्गदर्शन प्रदान गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको हो ।

पिजेटिए पूर्व विद्यार्थी नेटवर्क तदर्थ समितिको अध्यक्षमा भागरथी अवस्थी, सचिवमा प्रकाशचन्द्र जोशी, कोषाध्यक्षमा चेतराज चौधरी तथा सदस्यमा ममिता ठगुन्ना र पुष्पा धामी सर्वसम्मत चयन भएका छन् । समितिको प्रभावकारिताबारे प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक धनसिंह महराले पूर्व विद्यार्थीको अनुभव, सुझाव र सहकार्यले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षालाई व्यवहारिक र रोजगारमुखी बनाउन विद्यालयले विशेष जोड दिँदै आएको उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साउदले विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सञ्जाल महत्वपूर्ण माध्यम बन्ने धारणा राख्नुभयो ।

प्रमुख अतिथि चौधरीले प्राविधिक शिक्षा आत्मनिर्भर जीवनको आधार भएको उल्लेख गर्दै विद्यालयले उत्पादनमुखी शिक्षामा जोड दिएकाले विद्यार्थीलाई भविष्य निर्माणमा सहज हुने बताउनुभयो । कार्यक्रमका अवसरमा पिजेटिए पूर्व विद्यार्थी नेटवर्कको विधान समेत सर्वसम्मत रूपमा पारित गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयको प्राविधिक धारतर्फका शिक्षक नरेन्द्रप्रसाद भट्टले गर्नुभएको थियो । विद्यालयमा प्राविधिक धार अन्तर्गत कृषि बाली विज्ञान विषयका लागि नयाँ भर्ना कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा दक्ष बनाउन प्लास्टिक टनेल, माछा पोखरी, खेती अभ्यासका लागि पर्याप्त खेतबारी, कृषि औजार तथा उपकरणको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक शिक्षालाई विशेष प्राथमिकता दिइँदै आएको छ । कृषि प्राविधिक शिक्षा अध्ययन गरी उत्तीर्ण भएका अधिकांश विद्यार्थी सरकारी सेवामा कार्यरत रहेका छन् भने अन्य विद्यार्थी कृषि व्यवसायमा संलग्न भई आत्मनिर्भर बनेका छन् । विद्यालय नगर क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा परिचित रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img