रमेश प्रसाद भट्ट/महेन्द्रनगर– कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले दैजी–बेलडाँडी सडक खण्ड अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र बाघको आक्रमणबाट ४ जना घाइते भएको घटनाप्रति सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सांसद धामीले दैजी–बेलडाँडी सडकको निकुञ्जभित्र पर्ने करिब १५ किलोमिटर क्षेत्रमा स्थायी सुरक्षा पोस्ट स्थापना गर्न माग गर्दै उक्त सडक जंगल क्षेत्रभित्र लामो दूरीसम्म पर्ने भएकाले मोबाइल नेटवर्कको समस्या समाधान गर्न मोबाइल टावर स्थापना गर्नुपर्ने बताए।

त्यस्तै, बेलडाँडी लगायत निकुञ्ज आसपासका क्षेत्रमा ५ सय मिटरभित्र पर्ने भू-भागलाई सामुदायिक वन घोषणा गर्नुपर्ने माग पनि उनले सदनमार्फत उठाएका छन्। वन्यजन्तु आक्रमणबाट प्रभावित नागरिकले सहज राहत तथा क्षतिपूर्ति पाउन हालको कानुन संशोधन गर्नुपर्ने आवश्यकता समेत सांसद धामीले औंल्याए।

मंगलबार बेलुका महेन्द्रनगरबाट बेलौरीतर्फ घर फर्किने क्रममा बेलडाँडीको कालिकिच नजिकै बाघले मोटरसाइकलमा सवार परिवारमाथि आक्रमण गरेको थियो। आक्रमणमा परी बेलौरी नगरपालिका–९ रतनपुरका बिरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स ठगुन्ना तथा भिमदत्त नगरपालिका–१५ खैरभट्टकी बालिका आरुसी शाहु घाइते भएका छन्।
घाइते बिरेन्द्र ठगुन्नाका अनुसार बाघले सुरुमा आफूमाथि आक्रमण गर्दा मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेको थियो। घटनापछि स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। हाल चारै जनाको महाकाली अस्पतालमा उपचार हुन निसकेपछि धनगढिकाे मायामेट्राे अस्पतालमा उपचार भईरहेकाे छ ।






