पप्पु गुरुङ्ग, कञ्चनपुर । केही दिन यता कञ्चनपुर सहित सुदूरपश्चिमका तराई क्षेत्रमा अत्यधिक गर्मी बढेपछि दैनिक जीवन कष्टकर बन्दै गएको छ् । सुदूरपश्चिमका कञ्चनपुर, कैलाली र डोटीको तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुगेपछि मौषम विभागले विशेष सावधानी अपनाउन चेतावनी जारी गरेको छ् । साथै केही दिन तातो हावा चल्ने सम्भावना रहेकाले जनस्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेको भन्दै सकभर मध्यान्हको समयमा घर बाहिर ननिस्कन आग्रह गरिएको छ् । यसैबिच आईतबार कञ्चनपुरको तापक्रम ३९ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ् भने गत बिहिबार यस वर्षकै सबैभन्दा बढी तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ् । तापक्रम केही दिन अझै बढ्ने सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौषम कार्यालय अत्तरियाले सबैमा आग्रह गरेको छ् । सर्वसाधारणले पनि गर्मी बढेसंगै विभिन्न सावधानीहरु अपनाउन थालेका छन् ।


यस्तै गर्मी बढे संगै कञ्चनपुरको दोधारा चाँदनी नगर अस्पतालमा बिरामीको भिड लागेको छ् । दोधारा चाँदनी नगर अस्पतालका डा. हरिओंम केशरीले गर्मी बढेको कारण अस्पतालमा बिरामीको भिड बढेर गएको बताउनुभयो । गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, रक्तचाप अस्थिर हुने र मुटुमा दबाब बढ्ने जस्ता समस्याहरु देखिएको डा. हरिओंम केशरीले बताउनुभएको छ् । अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने वा शरीर असहज महसुस भएका बिरामी अस्पतालमा आउने गरेको उहाँले बताउनुभयो । खेतमा काम गर्दा टाउको ढाक्ने, छहारीमा विश्राम लिन र प्रशस्त पानी पिउनु पर्ने उहाँले बताउनुभयो ।


विशेषगरी बृद्धबृद्धा, बालबालिका तथा दीर्घरोगी व्यक्तिलाई बढी जोखिम हुने भएकाले उनीहरुको विशेष हेरचाह गर्न डा. केशरीको भनाई रहेको छ् । यता गर्मीबाट बच्न नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) ले सामाजिक सुरक्षा भत्ता बितरण स्थल, दोधारा चाँदनी नगरपालिकाको भिडभाड हुने क्षेत्रमा कागती पानी बितरण सहित गर्मीबाट बच्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) का फिल्ड अफिसर सुनिल सेठ्ठीले बताउनुभयो ।

पशुचौपायालाई पनि गर्मीबाट जोगाउन चिसो र सफा पानीमा सख्खर वा भेली घोलेर खुवाउन तथा सम्भव भएसम्म स्प्रिंकलर प्रयोग गरी गोठ चिसो राख्न पनि बिज्ञहरुले सुझाव दिएका छन् । यहि बिच, स्थानीय प्रशासनले पनि तातो लहर रोक्न नसकिने भएपनि सतर्कता र सचेतनाबाट यसको असर कम गर्न सकिने भन्दै मौसम विभागको चेतावनीलाई गम्भीरतापूर्वक लिन सबैलाई आग्रह गरेको छ् ।






