चितुवाको आक्रमणबाट घाइते वन हेरालुलाई उपचार खर्च सहयोग


कञ्चनपुर,: कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वन क्षेत्रमा गस्ती गर्ने क्रममा चितुवाको आक्रमणबाट घाइते भएका वन हेरालु सन्तराम चौधरीलाई आज उपचार खर्च सहयोग स्वरुप प्रदान गरिएको छ ।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरले घाइते चौधरीलाई रु १० हजार सहयोग उपलब्ध गराएको हो। समितिका अध्यक्ष महेशदत्त जोशीले कैलालीको अत्तरिया अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।

अध्यक्ष जोशीले वन हेरालु चौधरीको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको बताउनुभयो । सोमवार एकता सामुदायिक वन र श्री महाकाली सामुदायिक वनको सीमाना क्षेत्रमा पर्ने बलुवा खोला नजिक गस्ती गरिरहेका बेला चितुवाले चौधरीमाथि आक्रमण गरेको थियो। आक्रमणबाट उहाँको निधार, पिठ्युँ र कम्मरमा चोट लागेको छ ।

घटनाका बेला दुई जना वन हेरालु गस्तीमा रहेको र खोला नजिक पुग्नेबित्तिकै चितुवाले एक्कासी आक्रमण गरेको अर्का वन हेरालु रविन्द चौधरीले बताउनुभयो । “होहल्ला गरेपछि चितुवा जंगलतर्फ भाग्यो,” उहाँले भन्नुभयो । घटनापछि तत्काल उद्धार गरी चौधरीलाई अत्तरिया अस्पतालमा भर्ना गरिएको थियो । प्रारम्भमा पाटेबाघले आक्रमण गरेको आशंका गरिए पनि डिभिजन वन कार्यालय कञ्चनपुरले पञ्जा र नङ्ग्राको आधारमा चितुवाले नै आक्रमण गरेको पुष्टि गरेको जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img