कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा सरसफाई अभियान संचालन भएको छ । जिल्ला सदरमुकाम समेत रहेको महेन्द्रनगर बजार सहितका आसपासका क्षेत्रमा सरसफाई अभियान संचालन भएको हो । सार्वजनिक क्षेत्रमा विभिन्न सरकारी, गैर सरकारी कार्यालय, संघ संस्थादेखि स्थानीय युवा क्लबहरुले सामुहिक रुपमा सरसफाई गरिरहेका छन । पावर अफ युथ, कञ्चनपुर उद्योग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय, केदार युथ क्लब सहितका सरकारी, गैर सरकारी संघ संस्था निकायहरुले ‘ग्रिन महेन्द्रनगर क्लिन महेन्द्रनगर’ भन्ने मुल धेय बोकेर सरसफाईमा खटिएका हुन ।

पावर अफ युथले हरेक साता सरसफाई अभियान गर्दै आएको छ । पावर अफ युथका अध्यक्ष अकित जोशीले हरेक साता सार्वजनिक स्थलमा सरसफाई गर्न लागेको बताए । अध्यक्ष जोशीका अनुसार सार्वजनिक क्षेत्र सडक, बजार, सरकारी कार्यालयदेखिका सबै सरकारी क्षेत्रमा सरसफाई अभियान संचालन गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले हरेक महिना दुई दिन व्यापार क्षेत्र बन्द गरेरै भएपनि सभ्यताका लागि सरसफाई अभियानमा जुटेको बताए । पछिल्ला दिनहरुमा सामुहिक रुपमा चलिरहेको सरसफाई अभियानले सार्थकता पाउने अपेक्षा गरिएको छ ।







