मेलमिलापकर्तालाई विवाद छिनोफानो गर्नेकार्यमा दक्ष बनाउन पुनर्ताजगी तालिम


कञ्चनपुर : मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीलाई विवाद छिनोफानो गर्ने कार्यमा दक्ष बनाउन शुक्लाफाँटा नगरपालिका ले तीन दिने पुनर्ताजगी तालिम आज देखि सञ्चालन गरेको छ । नगरपालिकाले सूचीकृत मेलमिलापकर्ता तथा न्यायिक समितिका पदाधिकारीलाई काम, कर्तव्य र अधिकारका साथै विवादित पक्षलाई ‘जित–जित’को अनुभूति हुने गरी विवाद समाधान गर्ने तरिकाबारे जानकारी दिन तालिम आयोजना गरेको हो ।

नगरपालिकाको न्यायिक समितिले वडा तहमा आउने विवाद समाधानका लागि ६९ जना मेलमिलापकर्तालाई सूचीकृत गरेको छ । ती मेलमिलापकर्ताले अधिकांश विवाद वडामै मिलापत्र गराउने गरेका छन् । वडा तहमा समाधान हुन नसकेका विवाद न्यायिक समितिमा पठाइने र त्यहाँबाट पनि समाधान हुन नसके अदालतलगायतका न्यायिक निकायमा पठाइने व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार गठन गरिएका न्यायिक समितिले बाटो, कुलो, साँध–सिमाना, घरबहाल, लेनदेन, अंशबण्डा, सार्वजनिक सम्पत्तिको प्रयोग, घरायसी झगडा, सामान्य कुटपिट तथा घरेलु हिंसासम्बन्धी विवादजस्ता सामान्य प्रकृतिका मुद्दा हेर्न पाउने व्यवस्था छ । यस्ता विवाद स्थानीय स्तरमै समाधान हुँदा सर्वसाधारणले छिटो, सहज र कम खर्चमा न्याय पाउने गरेका छन् ।

नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक कल्पना पन्तले स्थानीय तहमा आउने सामान्य प्रकृतिका विवादलाई समुदायस्तरमै समाधान गर्ने प्रयास हुदै आएको बताउनुभयो । “विवादित दुवै पक्षबाटै समाधानको बाटो खोजेर सहमतिमा पुग्ने प्रयास गर्छौं,” उहाँले भन्नुभयो, “मेलमिलापबाट दुवै पक्षले न्याय पाएको अनुभूति गर्दै घर फर्किने गरेका छन् ।” उहाँका अनुसार चालु आर्थिक वर्षमा न्यायिक समितिमा १६ वटा विवाद दर्ता भएकामध्ये १४ वटा विवाद आपसी सहमतिमै टुङ्गिएका छन् भने दुई वटा विवाद विचाराधीन अवस्थामा रहेका छन् ।

अधिकांश विवाद मेलमिलापमार्फत समाधान हुनुले न्यायिक समितिप्रति नागरिकको विश्वास बढ्दै गएको देखिएको छ । स्थानीय स्तरमै विवाद समाधान हुँदा अदालत धाउनुपर्ने अवस्था कम हुनुका साथै समय र खर्च बचत भएको छ । समुदायभित्रको सम्बन्ध बिग्रिन नदिई आपसी समझदारी कायम गर्न न्यायिक समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाई रहेको छ । नगर प्रमुख रण बहादुर महराले न्यायिक समितिको व्यवस्था लागू भएको करिब एक दशक पुग्न लागेकाले यसको प्रभावकारिताबारे समीक्षा आवश्यक रहेको बताउनुभयो ।

उहाँले गाउँघरका सामान्य विवाद समाधानमा न्यायिक समितिले महत्वपूर्ण भूमिका खेले पनि अपेक्षाअनुसार उपलब्धि हासिल गर्न अझ सुधार र सुदृढीकरण आवश्यक रहेको धारणा राख्नुभयो । तालिममा जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश सूर्यप्रसाद भण्डारीले मेलमिलाप पद्धति प्रवद्र्धनमा न्यायिक समिति र मेलमिलापकर्ताको भूमिकाबारे प्रशिक्षण दिइरहनुभएको छ । अदालतका रजिष्ट्रार जनकप्रसाद शर्मा लगायतले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ । नगरपालिकाको न्यायिक शाखाका प्रमुख सुरेन्द्रदेव भट्टका अनुसार तालिममार्फत न्याय निरूपण प्रक्रिया, कानुनी व्यवस्था, मेलमिलापका विधि तथा विवाद समाधानका व्यवहारिक पक्षबारे सहभागीलाई जानकारी गराइनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img