डिल्ली राज पन्त /कञ्चनपुर: भिमदत्त नगर हर्क बहादुर विकका तीन जना सन्तान विगत करिब ८ वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन्। २५ वर्षीया छोरी उत्तरा विक, २३ वर्षीया रमेश विक र २१ वर्षीया सुभास विक गम्भीर अपाङ्गताबाट पीडित छन्।

परिवारका अनुसार २०७५ सालदेखि सुरु भएको समस्याको अहिलेसम्म स्पष्ट रोग पत्ता लाग्न सकेको छैन। उपचारका लागि विभिन्न ठाउँमा पहल भए पनि आर्थिक अभावका कारण निरन्तर उपचार सम्भव हुन सकेको छैन। घरभित्र र बाहिर दुवैतर्फ दैनिक जीवन निकै कष्टकर बनेको छ। सामान्य हिँडडुलसमेत गर्न नसक्ने अवस्थाका कारण उनीहरूको जीवन अत्यन्त कठिन बन्दै गएको छ।

कञ्चनपुर क्षेत्र नं ३ का सांसद ज्ञानेन्द्र सिंह महता ले सोमबार पिडित परिवार लाई भेटी अपाङ्गता भएका विक दिदि भाई हरु लाई उपचारका लागी सम्बन्धित पक्ष संग सहकार्य का लागि आग्रह गरी उचित उपचार को पहल गरेका छन् ।उहाँ ले सामाजिक कार्य गर्ने संस्था NNSWA संग सहकार्य गरिदिन समेत आग्रह गरेका छन् ।

पीडित परिवारले राज्यका सम्बन्धित निकाय, स्थानीय सरकार तथा सरोकारवाला सबैसँग उचित बसोबासको व्यवस्था र प्रभावकारी उपचारको व्यवस्था गरिदिन अनुरोध गरेका छन्।






