डिल्ली राज पन्त / कञ्चनपुर, — कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले जनता का समस्या समाधानका लागि सञ्चालन गर्नुभएको ‘अन द स्पट अभियान’ अन्तर्गत एकै दिन ५ स्थानमा अनुगमन गर्नुभएको छ। अनुगमनमा प्रमुख जिल्ला अधिकारी मदन कोइराला ले समेत तदारुकता देखाएका छन। भीमदत्त नगरपालिका–१३ मा विगत एक सातादेखि नहर फुट्दा सिँचाइमा समस्या देखिएको विषयमा स्थानीयबाट जानकारी पाएलगत्तै सांसद महताले सम्बन्धित निकायलाई सक्रिय गराउँदै सिँचाइ कार्यालयसँग समन्वय गरी समस्या समाधान गर्न पहल गर्नुभएको छ।

त्यस्तै, भीमदत्त नगरपालिका–१२ स्थित पूर्णा माध्यमिक विद्यालयको छात्रावास जीर्ण अवस्थामा रहेको र विद्यालयको भौतिक सम्पत्तिको उचित व्यवस्थापन नभएको विषयमा उहाँले विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी तथा अभिभावकसँग छलफल गर्नुभएको छ। यसैगरी, वर्षौँदेखि बन्द अवस्थामा रहेको गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्स–रे मेसिनको स्थलगत अवलोकन गर्दै उक्त मेसिन तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न प्रमुख भन्सार अधिकृत अम्बिका देवी सुबेदीलाई आग्रह गर्नुभएको छ।

अनुगमनका क्रममा सांसद महताले सीमा नाका गड्डाचौकी आसपासका माथिल्लो भेगमा हुने तस्करी नियन्त्रणका लागि विभिन्न खुला क्षेत्रको निरीक्षण गर्नुका साथै नाकामा प्रभावकारी चेकजाँच गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। सांसद महताको ‘अन द स्पट अभियान’ अन्तर्गत गरिएको यस प्रकारको सक्रिय अनुगमनले स्थानीय समस्या समाधानमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।







