समाचार लेखेको विषयमा पत्रकार धामी बिरुद्ध साईबर मुद्दा

प्रेस काउन्सिल हुँदाहुँदै प्रहरीमा मुद्दा दिनु दुखत वियष : पत्रकार महासंघ


कञ्चनपुर : समाचार लेखेकै विषयमा कञ्चनपुरका एक पत्रकार बिरुद्ध जनप्रतिनिधीले उजुरी दिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। सुशासन सम्बन्धीका समाचार लेखेकै आधारमा पत्रकार बासुदेव धामी(विमल) रिुबद्धमा बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले उजुरी दिएपछि पत्रकार महासंघले आपत्ति जनाएको हो । पत्रकार महासंघ कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्र्दै महासंघका साधारण सदस्य समेत रहेका पत्रकार धामी विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको विषयप्रति महासंघ शाखा कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार लेखेको बिषयमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्युतीय कारोबार कसुर अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गर्नु दुःखद विषय भएको महासंघको ठहर छ। ‘कुनै पनि समाचारप्रति असन्तुष्टि, आपत्ति वा समस्या भएमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्पष्ट कानुनी व्यवस्था विद्यमान छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘पछिल्ला वर्षहरूमा प्रेस सम्बन्धी विषयहरू प्रेस काउन्सिल नेपालमार्फत नै नियमन, कारवाही तथा जरिवाना समेत हुँदै आएको छ।’ प्रेस काउन्सिल ऐनले समेत यस्ता विषयमा हेर्ने तथा आवश्यक दण्ड सजाय ,जरिवाना गर्ने अधिकार प्रदान गरेको अवस्थामा समाचार लेखेकै आधारमा पत्रकार वा सञ्चारकर्मीमाथि प्रेस काउन्सिलको क्षेत्राधिकार मिच्ने गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गर्नु उचित नभएको महासंघको धारणा रहेको छ।

समाचार लेखेकै विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई मुद्दा दर्ता गरी अनुसन्धान गर्न निर्देशन दिनु तथा त्यस आधारमा पक्राउ पुर्जी जारी गर्नुले समग्र सञ्चार क्षेत्रमै त्रास सिर्जना भएको महासंघको ठहर छ । सार्वजनिक सरोकारका विषयमा समाचार प्रकासन तथा प्रशारण गर्नु पत्रकारको पेशागत धर्म हो । प्रकाशित समाचारको बिषयलाई लिएर प्रहरी प्रशासन वा अदालतमार्फत मुद्दा दर्ता गर्ने तथा पक्राउ पुर्जी जारी गर्ने कार्य संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कदम भएको भन्दै महासंघले आपत्ति जनाएको छ । समाचार लेखेको बिषयलाई लिएर विद्युतीय कारोबार ऐनको गलत व्याख्या र प्रयोग हुन लागेकोप्रती पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ । पत्रकार धामी माथि समाचार लेखेको विषयलाई लिएर दर्ता गरिएको मुद्दा खारेज गरी सम्बन्धित विषय प्रेस काउन्सिल नेपालमा पठाउन महासंघले कञ्चनपुर प्रहरी प्रशासनसँग माग गरेको छ ।

पत्रकार महासंघ शाखा कञ्चनपुर प्रेस काउन्सिल नेपाललाई समेत यस बिषयमा गम्भीर बन्न आग्रह गरेको छ । बेलडाँडी पोष्ट, पश्चिम समाचारडटकमका पत्रकार धामीले पछिल्ला दिनहरुमा मोफसलमा बसेर सुशासनका मुद्दा उठान गर्दै आएका छन । पत्रकार धामीको घर परिवारले पछिल्लो समय असुरक्षित महसुस गरिरहेको जानकारी महासंघलाई दिएकोले पत्रकार धामी र घरपरिवारको सुरक्षाको उचित पबन्ध गरिदिन समेत सम्बन्धित निकायलाई महासंघ अनुरोध गरेको छ । पत्रकार महासंघ शाखा कञ्चनपुर सधैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै आएको अवगत गराउँदै संविधानले सुनिश्चित गरेको यस अधिकारको सम्मान गर्न र संयमित हुन सबै पक्ष र बर्ग सँग आग्रह गरेको छ ।

पत्रकार महासंघ कञ्चनपुरका सचिव कुण्दन पाण्डेयले हस्ताक्षर गरेको विज्ञप्तीमा सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई आचारसंहिताको पुर्ण पालना गर्दै सत्यतथ्य, निष्पक्ष, विश्वसनीय, जिम्मेवार र सचेत भई समाचार सम्प्रेषण गर्न समेत महासंघ अनुरोध गरिएको छ । अहिले समाचारप्रति असहमती, लेखेकै आधारमा यसरी एक पत्रकारमाथि जनप्रतिनिधीले मुद्दा मामिला गर्दा भावि दिनमा समेत कुनैपनि पत्रकारले सुशासन सम्बन्धी लेख्ने समाचारमा जनप्रतिनिधीदेखि सरकारी निकायमा रहेका जिम्मेबारी पदाधिकारीबाट मुद्दा मामिला गर्ने श्रृङखलाले सम्पूर्ण क्षेत्रमा प्रभाव पार्ने चौतर्फि चिन्ता व्यक्त गरिएको छ ।


ताजा समाचार

spot_img