आजदेखि आर्थिक गणना कञ्चनपुरका ९ वटै पालिकामा एकसाथ गरिदै


कञ्चनपुर: आजदेखि आर्थिक गणना हुन लागेको छ । कञ्चनपुुर सहित देशभर एकैसाथ आर्थिक गणना हुन लागेको हो । झण्डै दुई महिनासम्म हुने आर्थिक गणनाका लागि कञ्चनपुरमा ५३ गणक र सात जना सुपरीवेक्षक गरी ६० कर्मचारीको जनशक्ति परिचालन हुने भएको छ । हरेक जिल्ला, जिल्लाको आर्थिक अवस्था, उद्योग–व्यवसायको वास्तविक सख्या, रोजगारी अवस्था तथा आर्थिक गतिविधिको यथार्थ विवरण सङ्कलन गर्न आर्थिक गणना हुन लागेको जनाईएको छ । आर्थिक गणना कार्यालय कञ्चनपुरका जिल्ला आर्थिक गणना अधिकारी दानबहादुर ऐडी जिल्लाका ९वटैपालिकामा एकसाथ गणना हुने बताए । अनुसार सबैभन्दा बढी भीमदत्त नगरपालिकामा २०, बेलडाँडी, लालझाडीमा दुई दुई गणक परिचालन हुनेछन् ।

बेलौरी, बेदकोट, शुक्लाफाँट नगरपालिकामा पाँच, दोधाराचाँदनी कृष्णपुर नगरपालिकामा चार र पुर्नवास नगरपालिकामा छ गणक खटिनेछन । वडा अध्यक्ष, पालिका प्रमुख र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय आर्थिक गणना समन्वय समिति गठन गरिएको छ । आठ जना गणक बराबर एक जना सुपरीवेक्षक परिचालन गर्ने व्यवस्था गरिएको अधिकारी ऐडीले बताउँदै गणना गरिएको प्रतिष्ठानमा स्टीगर समेत टाँसिनेछ । आर्थिक गणना भनेको सञ्चालनमा रहेका वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने सबै प्रतिष्ठान तथा व्यवसाय (आर्थिक एकाइ)मा पुगेर तिनको विवरण सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन तथा वितरण गर्ने समष्टिगत प्रक्रिया हो। आर्थिक गणनाका क्रममा गणकहरूले पसल, उद्योग, संस्था, सेवा व्यवसाय तथा अन्य आर्थिक एकाइमा पुगेर विवरण सङ्कलन गर्नेछन्। मुख्य रूपमा व्यवसायमा गरिएको लगानी, रोजगारीको अवस्था, वार्षिक आम्दानी–खर्च, उत्पादन तथा सेवा प्रवाह, ऋण तथा बीमाको अवस्था लगायतका विवरण सङ्कलन गरिनेछ।

आर्थिक गणना कार्यालय कञ्चनपुरका जिल्ला सहायक आर्थिक गणना अधिकारी किसन खडकाले गणक र सुपरीपेक्षक दुवैलाई तालिम दिएको बताए । उनका अनुसार तालिम सम्पन्न गरेर अब फिल्डमा खटिएका छन । जिल्लाका विभिन्न पालिकामा रहेका व्यापार–व्यवसायको सङ्ख्या र घनत्वका आधारमा गणक र सुपरीवेक्षक परिचालन गर्ने व्यवस्था मिलाइएको बताए । अर्थमन्त्री स्वर्णीम बाग्लेले आर्थिक गणनाले देशको अर्थतन्त्रको स्पष्ट खाका आउने भएकाले आर्थिक गणना महत्वपूर्ण मार्ग दर्शक रहेको बताएका छन । अर्थमन्त्री बाग्लेले कर्मचारी र व्यवसायी उद्योगीलाई स्पष्ट विवरण संकलन दिन आग्रह गरेका छन । कुल गार्हस्थ्य उत्पादन (जिडीपी) तथा राष्ट्रिय लेखाका अन्य अनुमानलाई सुदृढ बनाउन आवश्यक आधारभूत तथ्याङ्क उत्पादन हुनेछ। आर्थिक गणनामा औपचारिक तथा अनौपचारिक दुवै प्रकारका आर्थिक गतिविधि सञ्चालन गर्ने प्रतिष्ठान तथा व्यवसाय समेटिनेछन्। आर्थिक गणना स्थलगत रूपमा सञ्चालन गरिनेछ। गणक तथा सुपरीवेक्षकले व्यवसायस्थलमै पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन्। यस गणनामा मुख्य रूपमा दुई प्रकारका प्रश्नावली प्रयोग गरिनेछ।

पहिलो सूचीकरण फाराम, जसमा सबै प्रतिष्ठान तथा व्यवसायको संक्षिप्त विवरण सङ्कलन गरिनेछ। दोस्रो मुख्य प्रश्नावली, जसमा सूचीकरण भइसकेका प्रतिष्ठानहरूको विस्तृत विवरण सङ्कलन गरिनेछ। मुख्य प्रश्नावलीका विवरण इ–सेन्सस प्रणालीमार्फत व्यवसायी आफैँले भर्न सक्ने व्यवस्था रहेको छ भने कागजी प्रश्नावलीमार्फत गणकले पनि विवरण सङ्कलन गर्नेछन्। नेपालमा पहिलो आर्थिक गणना ०७५ मा सम्पन्न भएको थियो भने दोस्रो आर्थिक गणना आव ०८२/०८३ मा सञ्चालन हुन लागेको हो। गणनाबाट प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गरिनेछ। साथै देशमा रहेका प्रतिष्ठानको सङ्ख्या, अर्थतन्त्रका क्षेत्रगत संरचना, आकार तथा वितरणसम्बन्धी तथ्याङ्क उत्पादन हुनेछ। आगामी ७असारसम्मै गणना हुने उक्त कार्यक्रममा जिल्ला आर्थिक गणना कार्यालय कञ्चनपुरले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबै उद्योगी, व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई गणकहरू आफ्नो व्यवसाय स्थलमा आउँदा सही तथा तथ्यपरक विवरण उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ।


ताजा समाचार

spot_img