मेहनती महिला सविता रानाको संघर्ष : बंगुरपालनमा विद्युत्को उज्यालोले दिएको नयाँ जीवन


हेमा भट्ट/ धनगढी: – धनगढी उप–महानगरपालिका–११, बेला निवासी सविता राना एक सामान्य गृहिणी मात्र होइनन्, उनी अहिले सुदूरपश्चिममा महिला उद्यमशीलताको प्रतीक बनेकी छिन्। करिब ६ वर्षअघि जम्मा ६ वटा बंगुर माउ पालेर सुरु गरेको उनको साहसिक यात्रा आज करिब २ सय बंगुरसम्म विस्तार भइसकेको छ।

सविताको उद्देश्य बंगुरपालन मार्फत आत्मनिर्भर बन्ने मात्र नभई स्थानीय स्तरमै रोजगार र प्रेरणा सिर्जना गर्ने हो। तर, उनका हरेक पाइला संघर्षका पर्खालबाटै गुज्रिएका छन्। छिमेकीको असहजताबाट खेतसम्मको यात्रा: सुरुवातमा घर नजिकै बंगुर पालन गर्दा दुर्गन्धका कारण छिमेकीलाई असहज भयो। त्यसपछि उनले नजिकैको खेतमा आधुनिक खोर बनाउन निर्णय गरिन्। युट्युबमार्फत भिडियो हेरेर आफैंले खोर बनाउन सिकिन्।

तर खोर बने पनि समस्या अझै बाँकी नै थियो – विद्युत् आपूर्ति थिएन।बिजुली नहुँदा मोटर चलेन, पानी पम्प भएन, चारा पिसाउन सकिएन। व्यवसाय त विस्तार हुँदै थियो तर सहज कामहरू असम्भव बन्दै गए वडामा धाइयो, भनियो – भोलि आउनेछ, पर्सि आउनेछ। तर दिन प्रतिदिन समस्या बढ्दै गयो,” सविता आँसु रोक्दै भन्छिन्।

समस्या असह्य भएपछि उनले रैकवार खबर दैनिकका सञ्चालक पदम सुनारलाई भेटिन्। समस्या सुनेपछि सुनारले तुरुन्तै कैलाली विद्युत् कार्यालय र जिल्ला प्रशासनलाई जानकारी गराए। त्यसपछि १५ पोलमा तार तानियो, थप २ पोल जडान पनि भयो।

तर अझै पर्याप्त पावर नआएपछि मोटर चल्दैनथ्यो, बिजुली कहिले आउँथ्यो त कहिले हराउँथ्यो। यो देखेर पुनः मिडिया मार्फत सन्देश प्रेषण गरियो। अन्ततः सन्देश सुदूरपश्चिम प्रदेश विद्युत् प्राधिकरणका निर्देशक जंग बहादुर चन्द सम्म पुग्यो। किसानले सित्तैमा विद्युत् मागेको होइन, राज्यलाई तिर्नुपर्ने पैसा तिर्छौं। तर समयमै बिजुली पाएन भने हाम्रा सपना मरेर जान्छन्,” मिडियामार्फत गरिएको निवेदनमा उल्लेख थियो।

निर्देशक चन्दले जवाफ दिए –यति धेरै भन्नु पर्दैन, यो मेरो दायित्व हो। जानकारी पाएँ भने तुरुन्तै जिम्मेवारी लिन्छु। उनको निर्देशनमा प्राविधिक टोली खटाइयो, स्थल अवलोकन भयो र अन्ततः २०८२ भाद्र ११ गते दिउँसो ट्रान्सफर्मर जडान गरेर सविता रानाको बंगुर फार्ममा बिजुली आपूर्ति गरियो।

आँसु र खुसीसँगको भेट:त्यस दिनको खुसी सविता र उनका परिवारका लागि अविस्मरणीय भयो। मेरो बंगुर नुहाउने, चारा पिसाउने, पानी पम्प गर्ने सबै काम सहजै हुन्छ। दुई वर्षभित्र २ हजार बंगुर बनाउने मेरो लक्ष्य छ,” उनले आँसु झार्दै भनिन्। विद्युत् पाएका दिनदेखि उनको सपना अझ ठूलो बनेको छ। बंगुरपालनलाई व्यवस्थित मात्र नभई उद्योगिक स्तरमा पु¥याउने उनको योजना छ।

धन्यवाद र आशा : यस सफलतापछि सविताले विद्युत् निर्देशक जंग बहादुर चन्द, जिल्ला विद्युत् टोली, वडा सरकार र विशेषतः समस्या सम्बोधनमा सेतु बनेको मिडियालाई धन्यवाद दिएकी छिन्।

उनको भनाइमा: हामीलाई बिजुली मात्रै चाहिएको थियो, त्यसले हाम्रो पसिनाको मूल्य बढाइदियो। किसानलाई जल, मल, बिजुली, औजार र आवश्यक आर्थिक सहयोग पुग्यो भने हामी विदेश पस्नु पर्दैन, आफ्नै गाउँ–घरमै बसेर देशलाई अन्न उत्पादन गरेर आत्मनिर्भर बनाउन सक्छौं।”

सन्देश : कृषि क्रान्तिको बाटो: सविता रानाको कथा केवल व्यक्तिगत संघर्ष र सफलता मात्र होइन, यो देशका किसानहरूको सामूहिक पीडा र आशा दुवै हो। हामीले बारम्बार “कृषि क्रान्ति” को नारा त लगाउँछौं, तर किसानले आवश्यक आधारभूत सुविधा – जल, मल, विद्युत्, औजार, सीप र बजार पाउन सके मात्र त्यो नारा व्यवहारमा परिणत हुन्छ। आज सविता जस्ता किसानहरूको कथा देखाउँछ, यदि राज्यले मेहनती किसानलाई सघायो भने उनीहरू विदेश पलायन नगरी आफ्नै गाउँमा बसेर आत्मनिर्भर राष्ट्र निर्माण गर्न सक्छन्।


ताजा समाचार

spot_img