कञ्चनपुर : हरितालिका तीज सम्पन्न भएपछि मनाइने ऋषि पञ्चमी आज देशभरि धुमधामसहित मनाइँदैछ। भाद्र शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वलाई विशेषगरी हिन्दु नारीहरूले आत्मशुद्धि, धार्मिक आस्था र स्वास्थ्यसँग जोडेर मनाउने परम्परा रहेको छ।

ऋषि पञ्चमीको दिन भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीको दिन हिन्दुधर्मावली नारीहरुले नदि, पोखरीहरुमा गएर स्नान र पुजा आर्चना गर्ने गर्दछन् । यो दिन विशेषगरी महिलाहरूले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) लाई पूजा गर्ने गरिन्छ । ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ, र वेदिक सनातन परम्परामा महिलाको यौन तथा प्रजनन स्वास्थ्यको महत्व पनि त्यत्तिकै पुरानो छ।

आजको दिन महिलाहरू बिहान स्नान र दैनिक क्रियाकलापपछि उपमार्ग भन्ने विशेष जडीबुटी प्रयोग गरी दाँत माझ्ने र चपाउने गर्छन्। उपमार्ग नेपाली भूमिमा सजिलै पाइने वनस्पति हो, जसलाई संस्कृतमा रोगनाशक तत्व भनिन्छ। महिलाहरू १०८ वटा उपमार्गका टुक्राहरू प्रयोग गर्छन्। त्यसपछि माटोले शरीर दल्ने चलन छ। त्यसपछि नदी वा पोखरीमा स्नान गर्छन्। स्नानपछि, पञ्चभाग्य (दूध, दही, घ्यू, दुबो, कुश र गोरुको गोबर) लाई तामाको भाँडोमा राखेर एक–दुई थोपा सेवन गरिन्छ ।

कञ्चनपुरका विभिन्न नदी, ताल र मन्दिरहरुमा विहानै देखि महिला श्रद्धालु भक्तजनहरुले पुजा आर्चन गर्नेको घुईचो लागेको छ । हजारौँ वर्ष पुरानो वेदिक परम्परासँग जोडिएको ऋषि पञ्चमीलाई महिलाको स्वास्थ्य, आत्मशुद्धि र शक्तिको सम्मान गर्ने पर्वका रूपमा लिइन्छ। यसै पर्वसँगै तीज पर्वको समापन पनि हुने गर्दछ।






