महेन्द्रनगर : भीमदत्त नगरपालिकाले जेष्ठ नागरिकहरुलाई छाता र टर्च वितरण गरी सम्मान गरेको छ । शुक्रवार “उपमेयर कोशेली तथा सम्मान कार्यक्रम” अन्तर्गत जेष्ठ नागरिकहरुलाई छाता र टर्च वितरण गरी सम्मान गरिएको हो । कार्यक्रमले वृद्धवृद्धाको दैनिक जीवन सहज बनाउने र उनीहरूको सुरक्षामा टेवा पु¥याउने उद्देश्य राखेको जनाइएको छ ।

वर्षातको समयमा विषालु सर्प, किरा पट्याङग्रा र अध्यारोमा लड्ने, चिप्लने लगाएतको जोखिम रहने भएकोले सो कुरालाई ध्यानमा राख्दैँ जेष्ठ नागरिकहरुलाई छाता र टर्च वितरण गरि सम्मान गरिएको नगर उप–प्रमुख नीलम लेखक जोशीले बताइन् । ‘हाम्रो समाजका जेष्ठ नागरिकहरू हाम्रो सम्पत्ति हुन् । वर्षातको समयमा चिप्लिने, लड्ने, विषालु सर्प र किरा– पट्याङग्रा जस्ता समस्याबाट उनीहरूलाई सुरक्षित राख्न नगरपालिका प्रतिबद्ध छ ।’

उनले भनिन् ‘यो केवल एक सहयोग मात्र होइन, यो सम्मान पनि हो ।’ कार्यक्रममा सहभागी वृद्धवृद्धाहरूले छाता र टर्च पाउँदा धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको यो कदमलाई सराहना गरे । ‘हामीलाई सम्झेकोमा खुसी लाग्यो,’ एक जना जेष्ठ नागरिकले भने ‘यो सहयोगले साँझपख हिँड्न सहज हुनेछ, अनि घाम र झरीमा समेत काम लाग्नेछ ।’ नगरपालिकाले यसअघि समेत जेष्ठ नागरिकहरुलाई छाता र टर्च वितरण गरी सम्मान गरेको थियो ।







