कञ्चनपुर : भीमदत्त नगरपालिकाको भुजेलमा बस्दै आएका ६४ वर्षीय कालु भट्ट बाँसुरीको मिठो धुन सुनाएर माग्दै परिवारको जीविका चलाउन बाध्य छन । बजारका गल्ली र गाउँका चोक चौराहमा उहाँले बाँसुरीको धुन सुनाउने गर्नु हुन्छ । धुन सुन्नेहरुले उहाँलाई केही रकम दिनु हुन्छ । त्यसबाट उहाँको साँझ विहानको खाना खर्च जुटने गर्दछ । रकम नजुटेको दिन भट्ट परिवार भोक भोकै बस्न बाध्य हुने गरेको छ ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–६ न्यौलीमा रहेको थोरै जग्गाले परिवारको जीविका चलाउन नसकिने भएपछि कामको खोजीमा भट्ट परिवार सहित सात वर्ष अघि तराई झरेका हुन ।,“थोरै जग्गा भएकाले तीन महिना सम्म मात्रै खान पुग्थ्यो” उहाँले भन्नुभयो, “अरु महिना घर निर्माणका लागि ढुङ्गा निकाल्ने कार्य गर्दथे, मजदुरी गर्दथे, त्यसले जेनतेन परिवारको खर्च चल्थ्यो, त्यो पनि नपाईने भएपछि तराई झर्न बाध्य भए ।” भूजेलामा स्थानिय बासिन्दाको केही जग्गा उहाँले अधिया लगाउनु हुन्थ्यो । “यस वर्षको बर्षातमा महाकाली नदीको बाढी खेतमा पस्दा एक जग्गामा काटेको धानबाली बगायो” उहाँले भन्नुभयो, “खेत पुरै बालुवाले पुरिदिदा खेती गर्न लायकनै रहेन् ।”

अधिया लगाउदा खेत जोत्नका लागि ट्रयाक्टरको भाडा महंगो छ, तिर्न सकिने अबस्था छैन त्यसैले पनि जग्गा अधिया लगाउन पनि सक्ने अबस्था नरहेको उहाँले बताउनु भयो ।भट्टका श्रीमती शारिरिक अपाङ्ग भएकाले काम गर्न सक्नु हुन्न । दुई छोरालाई सामुदायिक विद्यालयमा पढाउने कार्य भने गरि रहेको भट्ट बताउनु हुन्छ ।भट्टका जेठो छोरा कक्षा १२ मा र कान्छो छोरा कक्षा १० मा पढदै आएका छन । आर्थिक अबस्था दयनिय भएकाले छोराहरुलाई पढाउन निकै मुश्किल रहेको उहाँ बताउनु हुन्छ ।

परिवारको साँझ विहानको खानाको जोहो मिलाउन र छोराको पढाईक खर्चका लागि बाँसुरीको सहारा लिनु परेको उहाँले सुनाउनु भयो । सानै छदा गोठालो जाँदा बाँसुरी बजाउन भट्टले सिकेका थिए । त्यही बाँसुरी अहिले बाँच्ने आधार बनेको उहाँले बताउनु भयो ।दैनिक बाँसुरी बजाएर रु चार सय देखि छ सय सम्म रकम सङकलन हुने गरेको उल्लेख गर्नु हुदै उहाँले त्यही रकमले साँझ विहानको खाना खर्च चलेको बताउनु भयो । गत वर्षको पुषको महिना देखि बजार बजार चहार्दै बाँसुरी बजाउदै माग्दै उहाँ आउनु भएको छ ।
विवाह, ब्रतबन्ध, संगै अत्तरीया, महेन्द्रनगर, झलारी, दैजी लगायतका बजार संगै निकटबर्ती भारतीय बजार बनवसा लगायतका क्षेत्रमा पुगेर बाँसुरीको धुन सुनाएर माग्ने गरेको भट्टले दुखेसो पोख्नु भयो । झोलमा तीन थरीका बाँसुरी राखेर उहाँले फरक फरक धुन सुनाउने गर्दछन ।बाँसुरीको धुन सुनेपछि पसल सञ्चालक, यात्रुहरु र बाँसुरीका पारखीहरुले आफैं पैशा भट्टलाई दिने गर्दछन । “पैशा दिनोस बाँसुरीको धुन सुनाउछु कसैलाई भन्दिन“ भट्ट भन्नु हुन्छ, धुन सुनेपछि सबैले धेरथोर पैशा दिन्छ ।” त्यही पैशाले अहिले परिवारको खर्च चल्दै आएको उहाँको भनाई रहेको छ ।






