हेमा भट्ट/कञ्चनपुर : भीमदत्त नगरपालिका “उपप्रमुख गरिब विपन्न सहयोग कार्यक्रम” अन्तर्गत भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशीले विपन्न, दलित तथा असहाय १५ घरधुरीको घरघरमा पुगेर खाद्यान्न वितरण गरेकी छिन्। वडा नं. ३, ४, ५, ७, ८ र १९ का स्थायी बासिन्दाहरूमध्ये छानिएका अति विपन्न परिवारहरूसम्म उपप्रमुख स्वयं घरदैलोमा पुगी खाद्यान्न हस्तान्तरण गरेकी हुन्।

खाद्यान्न वितरणपछिको अनुभव साझा गर्दै उपप्रमुख जोशीले भनिन्, “जब म ती परिवारहरूको आँगनमै पुगेर राहत सामग्री दिएँ, त्यतिबेला मेरो मन पनि हलुका भयो। सहयोगको सानो प्रयासले कसैको चुल्हो बल्दोरहेछ भन्ने अनुभूति अत्यन्त सन्तोषजनक रह्यो।” उनले नगरपालिकाको तर्फबाट आगामी दिनमा अझ प्रभावकारी सहयोगका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँदै भनिन्, “यस वर्ष बाढीका बेला कोही समस्या नपरोस् भनेर नगरपालिकासँग समन्वय गरी पूर्वतयारीका कामहरू अघि बढाइने बताइन् ।

खाद्यान्न पाएका घरपरिवारका सदस्यहरू अत्यन्तै भावुक थिए। एक जनाले भने, “हाम्रो घरमै आइपुगी उपप्रमुखज्यूले खाद्यान्न दिनु भयो, जुन आशा नै थिएन। यस्तो बेला यस्तो साथ पाउँदा हामी अत्यन्त आभारी छौँ।”कार्यक्रमले मानवता, सेवा भावना र जनप्रतिनिधिको सक्रियता प्रस्तुत गरेको भन्दै नगरबासीले उपप्रमुख जोशीको खुलेर प्रशंसा गरेका छन्।

