दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण

झलारी : शुक्लाफाँटा नगरपालिका ५ का आर्थिक रुपमा विपन्न दलित समुदायका बालबालिकालाई आज विद्यालय पोशाक सहित शैक्षिक सामग्री वितरण गरिएको छ । वडा कार्यालयको चालु आबको स्वीकृत रु एक लाख बजेटमा राष्ट्रि हलिया मुक्ती समाज कञ्चनपुरको समन्वयमा ३५ जना विपन्न दलित परिवारका बालबालिकालाई एक दर्जन कापी, विद्यालय पोशाक र झोला वितरण गरिएको हो । वडा अध्यक्ष चक्र बहादुर खडकाले बालबालिकालाई कापि, झोला, पोशाक लगायत वितरण गर्नु भएको छ ।

कार्यक्रमा बोल्दै उहाँले दलित लगायतका लक्षित वर्गका समुदायका लागि प्रत्येक वर्ष बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन हुदै आएको बताउनु भयो । आगामी आवमा पनि माग अनुसारका कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । राष्ट्रि हलिया मुक्ती समाजका अध्यक्ष शिवी लुहारले दलित समुदायका विपन्न बालबालिकालाई शैक्षिक सामग्री र पोशाक उपलव्ध गराएर वडा कार्यालयले सह्रानिय कार्य गरेको बताउनु भयो ।

मजदुरी गरेर जीविका चलाउने परिवारका बालबालिकालाई वडा कार्यालयले बजेट विनियोजन गरी पठनपाठनमा सहजता प्रदान गरेको उहाँको भनाई थियो । शैक्षिक सामग्री वितरण कार्यक्रममा वडा सदस्य गणेश विक, जीत बहादुर साउद, लक्ष्मी लुहार, जयराज पाण्डेय, दलित अगुवा लक्ष्मण लुहार लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन अन्तराम वडले गर्नु भएको थियो ।

ताजा समाचार