झलारी : आदिवसी जनजातीहरुको प्रथाजनित कानुन पैरवी सम्बन्धी तीन दिने तालिम शुक्लाफाँटा नगरपालिकामा शुक्रवार देखि सञ्चालन भएको छ । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद शुक्लाफाटाका अध्यक्ष हवलदार चौधरीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख लाल बहादुर ऐरले गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै कावा नगर प्रमुख ऐरले प्रथानति कानुनलाई संस्थागत गरी आदिवासी जनजातीको अधिकार सुरक्षित गरिनु पर्ने बताउनु भयो । विशिष्ट अतिथिका रुपमा रहेका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले वरघरले संस्कृति संरक्षणमा जोड दिएको बताउनु भयो । वरघर प्रथालाई शिक्षा संग जोडनु पर्नेमा उहाँको जोड थियो । तालिममा वडा नं १ का वडा अध्यक्ष उत्तरदेव भट्ट, वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरी, वडा नं १२ का वडा अध्यक्ष नवल सिंह राना लगायतले आदिवासी जनजातीको प्रथानजित कानुनलाई कार्यान्वयनमा ल्याउनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदका सदस्य चन्द्रलाल चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन परिषद्का नगर सचिव सुक्रीव रानाले गर्नु भएको थियो । तालिममा नगरपालिकाका १२ वटै वडाका ५२ जना वरघरको सहभागीता रहेको छ ।

रहेको छ
