पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढी पूर्वतयारी र जलवायु उत्थानशीलता अभिवृद्धिका लागि दास्ता सम्बन्धी प्रारम्भिक कार्यशाला सम्पन्न भएको छ् । दास्ता ट्वीलियो टेक ग्रान्टको सहयोगमा सञ्चालित छ, जसले जलवायु परिवर्तनका जोखिमलाई न्यूनीकरण गर्दै प्रविधीमैत्री समाधान मार्फत समुदायको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ् । नक्सा प्रालिको आयोजनामा सम्पन्न उक्त कार्यशालामा नगर प्रवक्ता, शाखा प्रमुखहरु, वडाध्यक्षहरु, विपद् सम्पर्क व्यक्ति, जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरिया, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, आईएचआरआर लगाएत विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नक्सा प्रालिका परियोजना अधिकृत विद्या भण्डारीले बाढी पूर्वानुमान, जोखिम सञ्चार, तथ्याङ्क अद्यावधिक, पूर्वचेतावनी प्रणाली सुदृढीकरण र सामुदायिक संलग्नता जस्ता पाँच प्राथमिक क्षेत्रहरुमा केन्द्रित भएर आगामी कार्य योजनाको खाका तयार पार्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको जानकारी दिनुभयो । उहााले दास्ता परियोजनाले स्थानीय तहमा जोखिम न्यूनीकरणको कार्यमा दीर्घकालीन र प्रभावकारी सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै, यसले समुदायलाई थप सुरक्षित र तयारी अवस्थामा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । परियोजनामा घरधुरीस्तरको विपद् तथ्याङ्क अद्यावधिक, जोखिम सञ्चारको सुधार, नगरपालिकामा भौगोलिक सूचना प्रणाली (जीआईएस) र पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यविधि (एसओपी) निर्माण तथा संशोधन गर्ने, र पूर्वकार्य प्रणालीका लागि डिजिटल संरचना सुदृढीकरणमा विशेष जोड दिइएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले विगतका वर्षहरुमा दास्ताले घरधुरी स्तरीय जोखिम नक्साङ्कन गरेको सम्झना गर्दै, अहिले उक्त नक्साङ्कन नगरपालिकाको सम्पत्तीका रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, नक्साङ्कनको आधारमा पालिकाले कुन परिवारलाई, कुन क्षेत्रमा, कहाँ सुरक्षित स्थानमा पुर्याउन सकिन्छ र जोखिम व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा योजना बनाउन सकिने कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ् । साथै, उहाँले दास्ता एप र मौसम तथा बाढी सम्बन्धी जानकारी दिने टोल फ्री नम्बर ११५५ को प्रयोगमा जोड दिदै, यसलाई प्रभावकारी बनाउने आवश्यकता रहेको बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रवक्ता हरि सिंह धनाडीले गत वर्षको बाढीका क्रममा मानविय क्षतिलाई रोक्न सफल भए पनि भौतिक क्षतिलाई रोक्न असमर्थ भएको भन्दै भौतिक क्षति पनि न्यूनिकरण गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विपद् व्यवस्थापनमा केवल प्रतिकार्य मात्रै नभई, यसमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका सबै सरोकारवाला निकायहरुको पनि सक्रिय भूमिका अनिवार्य रहेको उहाँले बताउनुभयो । नगर प्रवक्ता धनाडीले परियोजनाहरुको सफल कार्यान्वयनका लागि आफूले पूर्ण समर्थन र सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै, आगामी दिनहरुमा यस्ता प्रयासहरुलाई अझ सुदृढ बनाउने कुरामा जोड दिनुभयो ।
कार्यशालाबाट आगामी वर्षको लागि प्रभावकारी कार्ययोजना निर्माण, डेटा अफिसरको भूमिका स्पष्ट पार्ने, र प्रभावमा आधारित पूर्वानुमान (आईबीएफ) प्रणालीलाई विस्तार गर्ने विषयमा छलफल भएको छ् । कार्यक्रममा प्रविधिमैत्री, तथ्याङ्क–आधारित र सहभागीमूलक दृष्टिकोणमा आधारित विपद् व्यवस्थापन प्रणाली विकास तर्फ सकारात्मक मार्ग चित्र प्रस्तुत गरिएको छ् ।
यसले स्थानीय समुदाय र सरोकारवाला निकायहरुलाई एकताबद्ध गरि जोखिम न्यूनीकरण, पूर्वानुमान र आपतकालीन व्यवस्थापनमा थप प्रभावकारी कार्य गर्न मद्दत पुर्याउने छ् । कार्ययोजना आगामी वर्षमा जलवायु परिवर्तन र विपद्को जोखिम व्यवस्थापनका लागि बलियो आधार बनाउने विश्वास गरिएको छ् ।
