वन डढेलो लाग्न नदिन कञ्चनपुरमा उच्च सर्तकता


कञ्चनपुर : वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले उच्च सर्तकता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौविसै घण्टा तयारी अबस्थामा राखेको छ ।वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउना साथ कर्मचारीलाई आवश्यक सामग्री सहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाईएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम विचारी ठाकुरले बताउनु भयो । “सामुदायिक वन, चुरे संरक्षण सञ्जाल, सामुदायिक वन समन्वय समिति संग समन्वय गरी डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री हामी उपलव्ध गराउछौं” उहाँले भन्नुभयो, “सामुदायिक वन लगायतका संस्थाहरुले अग्नी नियन्त्रक टोली परिचालन गर्छन, त्यसका लागि समन्वयको कार्य गरिएको छ ।” उहाँका अनुसार डढेलो नियन्त्रण गर्ने सामग्री सहित कर्मचारी पनि खटिन्छन ।

डढेलो लाग्न नदिनका लागि सामुदायिक वनका उपभोक्तालाई सचेत पार्ने कार्य संगै वन क्षेत्रमा अग्नी रेखा तयार गर्ने,जनचेतनमूलक कार्यक्रमहरु सञ्चालन गर्ने कार्य अगाडी बढाईएको उहाँको भनाई रहेको छ । यस वर्ष हिउदे वर्षा नहुदा जमिन सुख्खा रहेको उल्लेख गर्नु हुदै कार्यालय प्रमुख ठाकुरले तापक्रममा बृद्धि हुदा डढेलो लाग्ने संभावना उच्च बनेर गएको बताउनु भयो । “चुरे क्षेत्रमा डढेलो लागे भौगोलिक विकटताले गर्दा नियन्त्रण गर्न निकै चुनौती छ” उहाँले भन्नुभयो, “डढेलो लाग्न नदिनका लागि निरोधात्मक उपाय अबलम्बन गरेका छौं ।” सामुदायिक वनका उपभोक्तालाई सचेत पारेकै कारण अहिले सम्म डढेलो लागेको जानकारी नआएको उहाँले बताउनु भयो । डढेलोबाट हुने जन, वन धनको क्षति न्यूनिकरणका लागि सर्तक अबस्थामा रहेको उहाँ बताउनु हुन्छ ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले आवद्ध ९४ वटा सामुदायिक वनमा २५ जनाका दरले अग्नी नियन्त्रक टोली गठन गरेको छ । डढेलो नियन्त्रणका लागि समन्वय समितिको संयोजकत्वमा अग्नी नियन्त्रक मुल समिति गठन गरी परिचालन गरिएको छ । एकिकृत सूचना प्रणाली मार्फत डढेलोको सूचना प्रवाह गर्ने व्यवस्था गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताउनु भयो । “यस कार्यले डढेलो लागेको जानकरी डिभिजन वन कार्यालय संगै आवद्ध सबै सामुायिक वनलाई हुन्छ” उहाँले भन्नुभयो, “जसले गर्दा डढेलो नियन्त्रण गर्न सहज हुन्छ, वन क्षेत्रमा भैरहेको पुनः उत्पादन भएका विरुवाहरुलाई जोगाउन सकिन्छ, वन क्षेत्र नजिकका बस्तीमा डढेलो लाग्न नपाउदा धनजनको क्षति हुन पाउदैन ।”

हाल लालझाडी करिडोर क्षेत्रका सामुदायिक वनहरुमा अग्नी रेखा सफा गर्ने, कन्ट्रोल फायर(नियन्त्रीत आगो) लगायतका कार्य उपभोक्ताको उपस्थीतिमा भैरहेको उहाँले जानकारी दिनु भयो । “वन क्षेत्रमा जथाभावी रुपमा आगो लगाउने,चुरोट विडीका ठुटा फाल्ने, ज्वलनशिल पदार्थको प्रयोग गर्ने कार्य गरेमा वन क्षेत्रमा क्षति भएमा हुने कानुनी प्रावधानका बारेमा सर्वसाधारणलाई सचेतना दिने कार्य गरि रहेका छौं” उहाँले भन्नुभयो । तराई क्षेत्रमा रुखहरुबाट पात झर्ने भएकाले चैत, वैशाख र जेठ महिनामा वर्षेनी डढेलो लाग्ने गर्दछ । जसका कारण वन क्षेत्रमा ढलेपडेको, सुकेको काठमा आगो लाग्दा करोडौंको क्षति हुने गर्दछ । डढेलोकै कारण अजिंगर, विभिन्न प्रजातीका सर्प लगायतका उभयचर, चराचुरुङ्गी, जनावरको मृत्यु हुनुका साथै वन्यजन्तुको बासस्थान मासिने गर्दछ । वन क्षेत्रमा डढेलो लागेमा बन्यजन्तुहरु बस्ती तर्फ जाँदा मानव– बन्यजन्तु विचको द्वन्द्व बढने गर्दछ ।


Loading Viewer...

ताजा समाचार

spot_img