महेन्द्रनगर : भीमदत्त नगरपालिकाले कला, संस्कृतिको पहिचान तथा संरक्षण गर्दै लोपोन्मुख परम्परागत बाजाको पुनर्जागरण गर्न १५ दिने दमाहा बाजा सम्बन्धी तालिम सुरु गरेको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यमामा बिहीबार आयोजित एक कार्यक्रमका बिच तालिमको औपचारिक शुभारम्भ गरिएको हो । सो तालिममा दमाहा बाजा बजाउने सीप सिकाइने छ, जसका लागि परम्परागत दमाहा वादकहरूले प्रशिक्षण दिनेछन् । तालिममा स्थानीय दमाहा बजाउने समुदायका सदस्यहरू, साङ्गीतिक रुचि भएका युवा तथा संस्कृति प्रेमीहरूको सहभागिता रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बोगटीले सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन आफ्नो प्राथमिकता भएको उल्लेख गरे । उनले लोपोन्मुख बाजा तथा साङ्गीतिक परम्पराको जगेर्नाका लागि यस्ता तालिम आवश्यक रहेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘पछिल्लो समय हामी हाम्रा कला संस्कृति बिर्संदै गएका छौँ ।

पछिल्लो समय दमाहा बाजा, पञ्चे बाजाको भन्दा पनि बैण्ड बाजा तर्फ हाम्रो समाज आकर्षित हुदैँ गएको छ ।’ उनले भने ‘सो कुरालाई मध्यनजर गर्दै हाम्रा परम्परागत बाजाको संरक्षण र दलित एवम् महिलाहरूको आर्थिक उन्नतिका लागि १५ दिने दमाहा बाजा बजाउन तालिम दिन लागिएको हो ।’ यस्तै उनले आफ्ना कला संस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिदैँ सीप सिकेपछि सीपको बजारीकरणका लागि समेत नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दमाहा बाजा नेपालको मौलिक वाद्ययन्त्रहरू मध्ये एक हो, जुन विशेष गरी परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनको रुपमा बजाइन्छ । यद्यपि आधुनिकताको प्रभावसँगै यसको प्रयोग घट्दै गएकोले संरक्षणका लागि तालिम सञ्चालन गरिएको बताए । भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक सुशील भट्टले सो तालिमले युवाहरुलाई परम्परागत बाजा बनाउन र बजाउन सीप हस्तान्तरण गर्ने बताए ।

यस्तै कार्यक्रमका सभापति एवम् भीमदत्त नगरपालिका कार्यपालिका सदस्य हरिहर परियारले दमाहा बाजाको संरक्षणको लागि नयाँ पुस्तालाई सिकाउन आवश्यक रहेको बताए । ‘दमाहा बाजा हाम्रो परम्परा, संस्कार र पहिचान संग जोडिएको सांस्कृतिक सम्पदा हो ।’ उनले भने ‘पछिल्लो समय नयाँ पुस्तामा यसको चासो घट्दै गएकोले संरक्षणका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’ यो तालिमले नयाँ पुस्तालाई दमाह बजाउने कला हस्तान्तरण गर्दै सांस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । पहिलो चरणमा १८ जनालाई तालिम दिन लागिएको नगरपालिकाले जनाएको छ । आफ्नो परम्परागत पेशा, बाजा कला सिक्न पाउँदा खुशी व्यत्त गर्दै तालिममा सहभागिहरुले नगरपालिकालाई कार्यक्रमका लागि धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, कार्यपालिका सदस्य गणेश आग्री, नगरपालिकाका कर्मचारी, तालिमका प्रशिक्षक, प्रशिक्षार्थी लगाएतको उपस्थिति रहेको थियो ।







