महेन्द्रनगर: एसपिए कैलाली प्रिमियर लिगको तेश्रो संस्करणको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ।
धनगढीको फाप्ला खेलमैदानमा बुधबार सम्पन्न भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधि रक्षा गरेको हो।

भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पाण्डेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले। भिमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए । पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३ विकेट लिएपनि टिमलाई जित भने दिलाउन सकेनन। कृष्ण कार्की र सागर भण्डारीले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो । पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका बसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे । ४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले । त्यस्तै कप्तान विपिन रावल ३८ रन, सुवास ऐर १८ रन,नवयुग बस्नेत १४ रन बनाए भने आशिष लुहार १२ रनमा रिटार्यड आउट भए । भिमदत्त नगरपालिकाका लागि साजन बिटालु,किरन चन्द,सन्तोष भट्ट र समिर बिष्टले समान एक एक विकेट लिए ।
उपाधिसँगै भिमदत्तले नगद दुई लाख जितेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ। प्रतियोगितामा भिमदत्त नगरपालिका अरुण ऐरी सर्वोकृष्ट खेलाडी भए । उनले नगद २५ हजार प्राप्त गरे । उनी दुई खेलमा प्लेर अफ दि म्याच भएका थिए भने प्रतियोगितामा उनले १० विकेट लिएका थिए । पुर्नवास नगरपालिका दिपक बोहोरा उत्कृष्ट ब्याटर भए । उनले नगद १५ हजार पाए । उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए । त्रिवेणी नगरपालिकाका दिपक टमट्टा उत्कृष्ट बलर भए । उनले पनि नगद १५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा १० विकेट लिएका थिए । धनगढी उपमहानगरपालिका मनिस जोशी उदयमान खेलाडी भए । उनले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का लगायतले पुरस्कार वितरण गरिन् । जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रक विष्टको अध्यक्षतामा भएको समापन समारोहमा प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघका पदाधिकारी सहितका क्रिकेट प्रेमीहरुको सहभागीता रहेको थियो ।
