झलारी : शुक्लाफाँटा नगरपालिका ११ मा आज सिकलसेल एनिमिया तथा थालेसिमिया सम्बन्धी एक दिने पैरवी कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको कार्यक्रमको समन्वय शुक्लाफाँटा नगरपालिको गरेको थियो । कार्यक्रमको सभापतित्व वडा अध्यक्ष शेर बहादुर साउदले गर्नु भएको थियो ।व्यानर वाचन गरी कार्यक्रम उद्घाटन गर्नु हुदै उहाँले वडाबाट आउदो आबमा बजेट विनियोजन गरी सिकलसेल एनिमिया र थालेसिमियाको पहिचानका लागि कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

थारु समुदायमा मात्रै देखिने रोग भनेर चिनिन्थ्यो उहाँले भन्नु भयो, हाल यो रोग अन्य समुदायका व्यक्तिहरुलाई पनि देखिन थालेको बताउनु भयो । वंशानुगत रुपमा सर्ने भएकाले कुण्डली मिलाएर मात्रै विवाह गर्नु उपयुक्त हुने उहाँको भनाई थियो । सिकलसेल एनिमिया तथा थालेसिमिया सम्बन्धी जानकारी दिनु हुदै स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले सिकलसेल एनिमिया रोग एक प्रकारको वंशानुगत रोग भएकाले बुवा आमाबाट बालबालिकामा सर्ने बताउनु भयो उहाँका अनुसार यो रोग जीनमा हुने खरावीले गर्दा हुन्छ । जसले गर्दा रातो रक्तकोषहरु गोलो आकार हुनको साटो हँसिया आकारको हुन्छ । सिकलसेल रोगीको शरिरमा हँसिया आकारको रक्त कोष हुने भएकाले रगत सजिलो संग बग्न सक्दैन ।
सिकलसेल भएमा छिटो छिटो थकाई लाग्ने,स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, छाती, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाई हुने लक्षण देखा पर्ने गर्दछन । यसैगरी, कमलपित्त हुने, आँखाका समस्याहरु देखा पर्ने,संक्रमण भै रहने ज्वरो आउने, पक्षघात हुने, वाकवाकी लाग्ने, बान्ता हुने, खोकी लाग्ने लगायतका लक्षण पनि देखा पर्ने गर्दछन । रगत बग्न नसक्दा शरीरका भित्री अंगहरुमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा खरावी हुन्छ । ती अंगहरुमा कडा खालको दुखाई हुन्छ । सामान्यतया रातो रक्तकोषहरुको आयु १२० दिन सम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरुको आयु १० देखि २० दिन सम्मको हुने भएकाले विरामीलाई रक्तअल्पता हुन्छ ।

यस रोगको मुख्य उपचार भनेकोनै तालिमप्राप्त स्वास्थ्यकर्मीहरुबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गरानु रहेको छ । यो रोगमा विरामीहरुले जीवनभर औषधी सेवन गर्नु पर्ने तथा रगत चढाउनु पर्ने हुन्छ । सिकलसेल एनिमिया र बिटा थालेसिमिया रोग नभएका छोरा छोरी जन्माउनका लागि विहेवारी गर्दा ध्यान दिनु पर्ने अधिकृत भट्टको भनाई रहेको छ । उहाँका अनुसार विवाहपूर्व यो रोग जाँच गरी सिकलसिल थालमेसिया कुण्डलीमा उल्लेख भए अनुसार विवाह गर्ने निर्णय गरेमा जीवन उपचार चाहिने खर्चिलो रोगबाट बच्न र बचाउन सकिन्छ ।
सिकलसेल एनिमिया भएका विरामीलाई समाजमा लाञ्छना र विभेद गर्न नहुनेमा उहाँले जोड दिनु भयो । उहाँले दिएको जानकारी अनुसार शुक्लाफाँटका १२ वटै वडालाई समेटेर पाँच ठाउमा सिकलसेल चेकजाँच शिविरको आयोजना गरिन लागेको छ । जसमा एक हजार पाँच सय जनाको सिकलसेल परिक्षण पहिचान गरिने लक्ष्य राखिएको छ । कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य चौकी दिपनगरका प्रमुख कृष्णराज जोशीले गर्नुभएको थियो । कार्यक्रमा महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक, विद्यार्थी, थारु समुदायका अगुवा, भलमन्सा, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।
