७५ औं प्रजातन्त्र दिवस : महेन्द्रनगर जेसिजको उत्साहजनक सहभागिता

महेन्द्रनगर : कञ्चनपुरमा पनि विविध कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । बुधबार जिल्लामा विविध कार्यक्रम गरेर ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । उक्त दिवस कार्यक्रममा महेन्द्रनगर जेसिजले पनि विविध कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाएको छ । महेन्द्रनगर जेसिजका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थी, महासचिव लक्ष्मण पन्त सहितका पदाधिकारीको ब्यानर सहित दिवसमा उत्साहजनक सहभागिता जनाएका छन ।

महेन्द्रनगर जेसिजका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले नेपाली जनताले अधिकार पाएको विशेष दिनमा जेसिजको पनि उत्साहजनक सहभागिता भएको बताए । जिल्ला सदरमुकाम महेन्द्रनगर सहित दोधारा चाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, बेलडाँडी, लालझाडीमा दिवस मनाईएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरको संयोजनमा मूल समारोह समितिले महेन्द्रनगर खुला मञ्चमा विशेष समारोहको आयोजना गरेर दिवस मनाएको छ । खुला मञ्चमा आयोजित मूल समारोहमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा (पातल) ले नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा दिवस मनाउने गरिएको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले प्रजातन्त्र स्थापनापछि पनि देशले थुप्रै संघर्ष गर्नु परेको स्मरण गराउँदै यी सबै उपलब्धिहरूलाई संस्थागत गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सरकारी गैर सरकारी, सुरक्षा निकाय, सामुदायिक तथा निजी संघसंस्था, विद्यालय विद्यार्थीको सहभागितामा बजार परिक्रमा गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।

ताजा समाचार