मोटरसाईकल वर्कसप सञ्चालन गरी भविष्यका सपना बुन्दै जंजीर

राजेन्द्रप्रसाद पनेरु/झलारी : शुक्लफाँटा नगरपालिका ६ वनसमिति बजारमा जंजीर चौधरीले छ वर्ष देखि मोटरसाईकल वर्कसप सञ्चालन गर्दै आएका छन । उहाँको मासिक कमाई रु ५० हजार बढी रहेको छ ।मोटरसाईकलको इन्जन बाँध्ने कार्य देखि वारिङ गर्ने, पाटपूर्जा बदल्ने, सर्भिस गर्ने लगायतका कार्य हुने गरेको छ ।औषतमा कमाई मासिक रुपमा रु ५० हजार जति हुने गरेपनि सिजनमा रु एक लाख सम्म पनि कमाई हुने गरेको उहाँ बताउनु हुन्छ ।वर्कसपमा चौधरीले एक्लै मात्रै कार्य गर्दैनन् । उहाँकी श्रीमतीले पनि काम गर्नु हुन्छ । कामदार भने राखेका छैनन् । दुवै जनाले विहानीको ७ बजे देखि साँझ अवेर ९ बजे सम्म काम गर्छन । वर्कसपको कमाईबाट श्रीमतीका लागि डेढ तोला सुन, एक मोटरसाईकल खरिद गर्नुका साथै घर खर्च चलाउने गर्नु हुन्छ । पुरै परिवारको बीमा गरेका छन ।

“घरमा रहेको चार विघा जग्गाको खनजोत, सिचाई, मलखाद, बीउविजन खरिदको सबै खर्च वर्कसपको कमाईले व्यहोर्दै आएका छौं” चौधरीले भन्नुभो, “श्रीमती विरामी पर्दा रु दुई लाख जति रकम उपचारमा खर्च भयो, त्यो रकम पनि वर्कसपकै कमाईले धान्यौं ।”श्रीमती सरुलाई पनि मोटरसाईकल मर्मतको कार्य सिकाउदै आएकाले आधा काम सिकेको उहाँ बताउनु हुन्छ । वर्कसपको कार्य सम्हाल्नु अघिको कुरा चौधरीको रोचक छ । नयाँ नयाँ विवाह भएको थियो । चौधरी पनि अरु गाउँका युवाहरु जस्तै वैदेशिक रोजगारीमा जाने मनस्थीतिमा थिए । घरमा चढनका लागि उहाँ संग मोटरसाईकल थियो । बारम्वार विग्री रहन्थ्यो । वर्कसपमा निकै रकम खर्च हुदै आएको थियो । त्यही बेला वडा कार्यालयमा मोटरसाईकल मर्मत गर्ने सम्बन्धीको तालिम आयो । चौधरीले पनि तालिम लिने निश्चय गरे ।

तालिम लिन थाले । एक वर्ष जति तालिमका क्रममा अरुको वर्कसपमा काम गर्ने अवसर पाए पछि मोटरसाईकल मर्मत गर्ने कार्यमा निपूण भए ।अरुको वर्कसपमा काम गर्दा मालिकले कमाइ गतिलो गर्दथे । कामदालाई निकै पिडा दिने गरेको अनुभव गरे । अरुको काम गर्नु भन्दा आफनै वर्कसप खोलेर काम गर्ने निधो गरे । “वर्कसप खोल्नका लागि आफु संग नगद रकम थिएन” उहाँले भन्नुभयो, “साथीभाई संग सापटी रकम मागेर रु चार लाख लगानी गरी वर्कसप खोले, इमान्दारीपूर्वक काम गर्न थालेपछि कमाई हुदै गयो, सापटी मागेको रकम छ महिनामा फिर्ता गरे, अहिले पसलमा रु १५ लाख जतिको लगानी पुगेको छ, त्यो सबै कमाईबाट पसलमा लगानी थप्दै आएको छु ।”

सिटिभिटिबाट मोटरसाईकल मर्मत सम्बन्धीको तीन महिने तालिम लिएर वान लेभलको परिक्षा उहाँँले पास गर्नु भएको छ । गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने मोटरसाईकल मर्मत सम्बन्धीको तालिममा उहाँ प्रशिक्षक भएर कार्य पनि गर्दै आएका छन । जसबाट अतिरिक्त आम्दानी हुने गरेको चौधरी बताउनु हुन्छ । बजार क्षेत्रमा घरघडेरी जोडने भविष्यको सपना चौधरीको रहेको छ । त्यसका लागि उहाँले रकम बचत गर्ने कार्यमा लागेका छन ।

ताजा समाचार