कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर स्थीत दुर्गममा रहेको सिद्धभीम आधारभूत विद्यालयका दुई सय ५० बालबालिकालाई विदेशी नागरिकले आज शैक्षिक सामग्री वितरण गरेका छन ।स्वर्गीय आमा मारियाको सम्झनामा बेल्जीम नागरिक लुसियाले छ सय वटा कापी सात सय ५० डटपेन र त्यही सङख्यामा सिसाकलम विद्यार्थीहरुलाई वितरण गर्नु भएको छ ।

गएको महिना मृत्यु हुन अघि आमाले बालबालिकाका लागि केही राम्रो कार्य गर्नु भनेर गएकाले दुर्गम क्षेत्रको विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको लुसियाले बताउनु भयो । “बालबालिकालाई शैक्षिक सामग्री बाँडन पाउदा निकै खुसि छु” उहाँले भन्नुभयो, “बालबालिकाले शैक्षिक सामग्री पाउदाको खुसि देख्दा झनै खुसि भएको छु, थोरै भएपनि सहयोग गर्न पाउदा भाग्मानी आफुलाई सम्झीन्छु ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज भट्टले विदेशी नागरिकले आफैं आएर विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर गुन लगाएको बताउनु भयो । “विद्यालयमा अति विपन्न जनजाती र दलित समुदायका बालबालिका पढदै आएका छन” उहाँले भन्नुभयो, “बालबालिकालाई वितरण गरिएको शैक्षिक सामग्रीले यो शैक्षिक सत्र धान्छ, अभिभावकले शैक्षिक सामग्रीको जोहो मिलाउने झन्झट हटेर गएको छ ।“
