झलारी : सामुदायिक विद्यालयहरुमा अध्ययनरत फरक क्षमता भएका बालबालिकाहरुका लागि शुक्लाफाँटा नगरपालिकामा आयोजना गरिएको ‘अपाङगता पहिचान चिकित्सकीय शिविर’बाट एक सय २० बालबालिकाले सेवा प्राप्त गरेका छन । नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयका बालविकास देखि कक्षा ३ सम्मका फरक क्षमता भएका बालबालिकाको हाडजोर्नी, नेत्र, नाक,काँँन,घाँटी, मनोरोग लगायत विशेषज्ञ चिकित्सक द्वारा चेकजाँचको कार्य संगै परामर्श दिने कार्य गरिएको छ ।

नगरपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक दिपेन्द्र जोशीले शिविरमा सहभागी स्क्रिनिङ गरिएका एक सय २० बालबालिका मध्ये एक सय बालबालिकाले विशेषज्ञ चिकित्सकिय सेवा प्राप्त गरेको बताउनु भयो । जसमा हाडजोर्नी सम्बन्धी ३०, मनोरोज सम्बन्धी ६५,नेत्ररोग एक सय,नाक, काँन घाँटी ३६ र स्वास्थ्य परिक्षण सेवा ७० जना बालबालिकाले लिएका छन । नेत्र चिकित्सक विर सिंह धामीले चेकजाँचका क्रममा एक बालकको आँखामा मोतिया बिन्दुको संक्रमण भएको पाईएको बताउनु भयो । “निकै थोरै बालबालिकामा मात्रै यस्तो समस्या देखिने गरेको छ” उहाँले भन्नुभयो, “समयमै समस्या पत्ता लागेकाले आँखाको शल्यक्रिया गरी बालकको आँखा ठिक हुने देखिए पछि रिफर गरेका छौं, यस कार्यले अभिभावकलाई बालकको उपचार गराउन सहज हुने भएको छ ।”
सामुदायिक विद्यालयमा अध्ययन गरि रहेका बालबालिकाको कुन किसिमको अपाङता छ भन्ने कुरा पहिचान गर्नका लागि शिविरको आयोजना गरिएको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताउनु भयो । “शिविरमा सहभागी विशेषज्ञ चिकित्सकले कुन प्रकारको अपाङगता रहेको छ भन्ने कुरा पहिचान गर्नु भएको छ” उहाँले भन्नुभयो, “अपाङता भएका बालबालिकाको विवरण शिक्षा विभागमा पठाउ छौं, विभागले अपाङताका आधारमा बालबालिकालाई आवश्यक पर्ने सहायक सामग्री उपलव्ध गराउने छ ।”
तत्कालै उपचार गराएर ठिक हुने बालबालिकालाई चिकित्सकले सम्बन्धीत ठाउमा उपचारका लागि पठाउनका लागि रिफर गर्ने कार्य पनि गरेको उहाँले जानकारी दिनु भयो । यस्तो प्रकारको सामुदायिक विद्यालयका बालबालिकाका लागि अपाङगता पहिचान चिकित्सकीय शिविर सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक आयोजना गरिएको उहाँको भनाई रहेको छ । शिविरमा हाडजोर्नी विशेषज्ञ दुर्गेश चौधरी, इएनटी सर्जन प्रसान्त भट्ट, मनोरोग विशेषज्ञ सन्ध्या सुवेदी, मेडिकल अधिकृत आयुष भट्ट र नेत्र रोग विशेषज्ञ बिर सिंह धामीले सेवा दिनु भएको थियो ।
