सिकलसेल एनिमिया र थालेसिमिया सम्बन्धी पैरबी कार्यक्रम

झलारी : शुक्लाफाँटा नगरपालिका २ मा सोमवार सिकलसेल एनिमिया र थालेसिमिया सम्बन्धी पैरबी कार्यक्रम आयोजना गरियो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा पैरवी कार्यक्रम आयोजना गरिएको हो । वडा अध्यक्ष भोंदुराम डगौराको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत द्वय सिद्धराज भट्ट र गणेश भण्डारीले सिकलसेल एनिमिया र थालेसिमिया सम्बन्धी कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भयो ।

उहाँका अनुसार सिकलसेल एनिमिया रोग एक प्रकारको वंशानुगत रोग भएकाले बुवा आमाबाट बालबालिकामा सर्ने गर्दछ । यो रोग जीनमा हुने खरावीले गर्दा हुन्छ । जसले गर्दा रातो रक्तकोषहरु गोलो आकार हुनको साटो हँसिया आकारको हुन्छ । सिकलसेल रोगीको शरिरमा हँसिया आकारको रक्त कोष हुने भएकाले रगत सजिलो संग बग्न सक्दैन ।
सिकलसेल भएमा छिटो छिटो थकाई लाग्ने,स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, छाती, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाई हुने लक्षण देखा पर्ने गर्दछन ।

यसैगरी, कमलपित्त हुने, आँखाका समस्याहरु देखा पर्ने,संक्रमण भै रहने ज्वरो आउने, पक्षघात हुने, वाकवाकी लाग्ने, बान्ता हुने, खोकी लाग्ने लगायतका लक्षण पनि देखा पर्ने गर्दछन । रगत बग्न नसक्दा शरीरका भित्री अंगहरुमा अक्सिजनको मात्रा कम भई ती अंगहरुमा खरावी हुन्छ । ती अंगहरुमा कडा खालको दुखाई हुन्छ । सामान्यतया रातो रक्तकोषहरुको आयु १२० दिन सम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरुको आयु १० देखि २० दिन सम्मको हुने भएकाले विरामीलाई रक्तअल्पता हुन्छ ।

यस रोगको मुख्य उपचार भनेकोनै तालिमप्राप्त स्वास्थ्यकर्मीहरुबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गरानु रहेको छ । यो रोगमा विरामीहरुले जीवनभर औषधी सेवन गर्नु पर्ने तथा रगत चढाउनु पर्ने हुन्छ । सिकलसेल एनिमिया र बिटा थालेसिमिया रोग नभएका छोरा छोरी जन्माउनका लागि विहेवारी गर्दा ध्यान दिनु पर्ने अधिकृत भट्टको भनाई रहेको छ । उहाँका अनुसार विवाहपूर्व यो रोग जाँच गरी सिकलसिल थालमेसिया कुण्डलीमा उल्लेख भए अनुसार विवाह गर्ने निर्णय गरेमा जीवन उपचार चाहिने खर्चिलो रोगबाट बच्न र बचाउन सकिन्छ ।

फागुन महिनाको १० गते वडामा सिकलसेल एनिमिया सम्बन्धी शिविर आयोजना हुने कार्यक्रममा जानकारी गराईएको छ । कार्यक्रममा वडा सदस्य, रानीपुर आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख हरि भट्ट, सिद्धनाथ आधारभूत विद्यालयका प्रअ,शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका, वरघर भलमन्सा लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार