दार्चुला : सुदूरपश्चिम दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरी ठगुन्नाले पाएकी छिन । नगर शिक्षा शाखा प्रमुख समेत रहेकी ठगुन्नालाई सोमबारदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । महाकाली नगर कार्यपालिकाले माघ १८ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा ठगुन्नाको नाम सिफारिस गरेको थियो ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुमध्ये बरिष्ठ कर्मचारी ठगुन्नालाई स्थानीय सरकार सञ्चालन ऐन, ०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत उमेश कुमार दाहालले बताए । ठगुन्ना नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह (अधिकृत सातौ) हुन् ।

यसअघि लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत रहेका नरसिंह बडालको संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ १० गते जिम्मेवारी खोसेको थियो । मन्त्रालयले बरिस्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीले निमित्र् भई कार्य प्रदान गरेको भन्दै बडालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी खोसिएको थियो । ठगुन्नाले मंगलबारबाट पदभार ग्रहण गरेकी छिन् । दार्चुलामा उनी पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बनेकी हुन । उनले आफुले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेकी छिन ।

