कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ९ मा सञ्चालित एक दिने निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वीत भएका छन । वडा कार्यालयको आर्थिक सहयोगमा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।

आँखा सम्बन्धी रोगको परिक्षण तथा उपचारका लागि आयोजना गरिएको शिविरमा पुगेका १० जना महिला र १३ जना पुरुष गरी २३ जनामा मोतिया बिन्दुको समस्या देखा परेको छ । शिविरमा आँखा चेकजाँचका क्रममा मोतिया बिन्दु भएका विरामीको निःशुल्क रुपमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताउनु भयो ।

उहाँका अनुसार मोतिया बिन्दु भएका विरामीको धनगढी नेत्रालयले निःशुल्क रुपमा शल्यक्रिया गर्ने छ । शल्यक्रियाका लागि छनौट भएका विरामीहरुलाई धनगढीसम्म जान एकतर्फी गाडी भाडा उपलब्ध गराइने छ भने बिरामीलाई औषधी र चश्मा निःशुल्क उपलब्ध गराउने सम्झौता रहेको वडा अध्यक्ष ऐरले बताउनु भयो ।

शिविरमा आँखा उपचारका लागि पुगेका मध्ये ३२ जनालाई निःशुल्क रुपमा चस्मा उपलव्ध गराईएको छ । अन्य विरामीहरुलाई निःशुल्क रुपमा औषधी र आवश्यक परामर्श दिने कार्य गरिएको छ । वडा कार्यालयले विगत छ वर्ष देखि निरन्तर रुपमा निःशुल्क रुपमा आँखा शिविर आयोजना गरी वडाका बासिन्दालाई आँखा सम्बन्धी सेवा दिदै आएको छ । हाल सम्म वडाका छ सय बढी आँखामा मोतिया बिन्दु भएका विरामीको निःशुल्क शल्यक्रियाको कार्य गरिएको वडा अध्यक्ष ऐरको भनाई रहेको छ ।
