विजय माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

लाल बहादुर एस.के. / पुनर्वास : पुनर्वास नगरपालिका-१०, भिम विकास बस्तीमा अवस्थित श्री विजय माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले विविध कार्यक्रमहरूको आयोजना गरी यो अवसरलाई विशेष बनाएको थियो। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय बिर बहादुर थापा रहनुभएको थियो। प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री थापाले विद्यालयमा शैक्षिक, खेलकुद भवन, खानेपानी, शौचालय लगायतका विविध समस्याहरू समाधान गर्न आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, वर्तमान समयमा शिक्षासँगै सीप सिक्न आवश्यक रहेको भन्दै विद्यार्थीहरूले आयआर्जनका उपायहरू सिक्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि रूपमा पूर्व गाविस अध्यक्ष तथा समाजसेवी भक्तबहादुर अधिकारी रहनुभएको थियो।

विद्यालयका अध्यक्ष गगन बहादुर धामीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समापन गर्दै अध्यक्ष धामीले विद्यालयमा धेरै सुधारका काम गर्नुपर्ने भए पनि अभिभावकहरूको सहयोग नपाएको गुनासो गर्नुभयो। साथै, विद्यालयका अधुरा योजनाहरू पूरा गर्न अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक भवानिदत्त अवस्थीले आर्थिक वर्ष २०८०/८१ को १ करोड ४० लाख ४० हजार १५३ रुपैयाँ बराबरको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। प्रधानाध्यापकको प्रतिवेदन अनुसार विद्यालयमा हाल ६५९ जना विद्यार्थी, १५ जना शिक्षक, २ जना बाल विकास शिक्षक, २ जना परिचर गरी १९ जना कर्मचारी कार्यरत छन्। कार्यक्रमका अवसरमा विद्यार्थीहरूले जनचेतनामूलक नाटक, सांस्कृतिक कार्यक्रम तथा विभिन्न प्रस्तुतीहरू दिएका थिए। विशेष गरी, राना, थारु, चौधरी लगायतका समुदायहरूको मौलिक संस्कृति झल्किने नृत्य तथा प्रस्तुतीहरू देखाइएको थियो। साथै, छाउपडी प्रथाको अन्त्यसम्बन्धी जनचेतनामूलक नाटक विद्यार्थीहरूले प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक निर्मल सुवेदीले गर्नुभएको थियो।

विद्यालयकी शिक्षिका दीपा बोहराले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। विशिष्ट अतिथिका रूपमा पुनर्वास नगरपालिकाका नगरकार्यपालिका सदस्य नन्मती चौधरी तथा श्रवण राणा, कालीप्रसाद तिवारी, नारद खड्का, विष्णु बिक, काशीराम बोहरा लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम भव्य रूपमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ। विशिष्ट अतिथिको आसनमा रहनुभएका भक्तबहादुर अधिकारज्यूले २०२७ सालदेखि बिछुवाको खड्डाबाट तीन कक्षाबाट सुरु भएको सो विद्यालय आज १२ सम्म अध्ययनमा पुग्न जाँदा धेरै खुसी लागेको व्यक्त गर्नुभयो र आफ्नो ठाउँबाट हुने यस विद्यालयप्रति कुनै पनि सहयोग गर्नुपरेमा आफ्नो प्रतिबद्धता समेत जाहेर गर्नुभयो र त्यसैगरी यस विद्यालयका अध्यक्ष रहनुभएका युवा यसै विद्यालयका विद्यार्थी भाइ गगन धामीले यस विद्यालयको अध्यक्ष जस्तो गरिमाय पद सम्हालेकोमा आफू खुसी व्यक्त गर्नुभयो चौथर्पी शैक्षिक सुधारदेखि गुणस्तरीय शिक्षाको अहिलेको आवश्यकता बताउनुभएको थियो ।

ताजा समाचार