झलारी : शुक्लाफाँटा नगरपालिकामा आज देखि राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता शुरु भएको छ ।नगरपालिकाको वडा नं ६ स्थीत बैजनाथ माध्यमिक विद्यालयको खेल मैदानमा तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितमा नगर क्षेत्रका १९ वटा विद्यालयले सहभागीता जनाएका छन । प्रतियोगितामा एथलेटिक्स, भलिवल, कवड्डि, कराते, तेक्वाण्डो लगायतका खेलहरु समावेश गरिएका छन ।

खेलकुद प्रतियोगिताको नगर प्रमुख रण बहादुर महराले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमा मन्तव्य राख्नु हुदै उहाँले प्रतियोगितमा सहभागी विद्यार्थीहरुको खेलकुदमा प्रतिभा देखाउने अवसर भएको बताउनु भयो ।थुप्रै खेलाडीले राष्ट्रिय र अन्र्तराष्ट्रि स्तरमा प्रतिभा देखाई नगरको गौरव बढाएको चर्चा गर्नु हुदै उहाँले यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको उदय हुने अपेक्षा गरेको बताउनु भयो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता नगर क्षेत्रमै आयोजना हुने भए्रकाले धेरै भन्दा धेरै पदक जित्ने अवसर खेलाडीलाई जुरेको उहाँले बताउनु भयो । प्रतियोगितालाई स्वच्छ र निष्पक्ष बनाउन निर्णायकर्ताको भूमिका महत्वपूर्ण हुने भएकाले सुम्पीएको जिम्मेवारी इमान्दारी पूर्वक वहन गर्न उहाँले आग्रह गर्नु भयो ।
नगर उप प्रमुख कल्पना पन्तले प्रतियोगिता सञ्चालनका लागि समाजका हरेक क्षेत्रबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने बताउनु भयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खडकाले शुक्लाफाँटा नगरपालिका खेलाडीको उर्वर भूमिका रुपमा रहेको बताउनु भयो । नगरपालिकाका निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले विद्यालय स्तरबाटै विद्यार्थीलाई खेलकुद तर्फ अग्रसर गराउनु पर्नेमा जोड दिनु भयो ।
“जिल्लाबाट खेलाडीको खोजि गर्दा यस नगरपालिकालाई पहिलो प्राथमिकता दिएर खेलाडी छनौट गर्दै आएका छौं” उहाँले भन्नुभयो, “यस क्षेत्रबाट थुप्रै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रगियोगितामा खेलाडीहरुले सहभागी भएर गौरव बढाएका छन ।” उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रमेश बहादुर ऐर, उत्तरदेव भट्ट, दान सिंह ऐर, नवल सिंह राना, बहादुर सिंह महरा, निवर्तमान वडा अध्यक्ष जगत बहादुर सिंह, कृष्णबैजनाथ बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्ट, राप्रपाका जीत सिंह भण्डारी, नेपाल शिक्षक महासंघका गोविन्द ढाँट, शिवसंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर बोहरा, शुक्लाफाँटा उद्योग बाणिज्य संघका अध्यक्ष धिरेन्द्र साउद, संस्थागत विद्यालयका तर्फबाट डम्बरदत्त अबस्थी, सामुदायिक विद्यालयका तर्फबाट पिताम्बर जोशी, बैजनाथ मावि कसरौल व्यवस्थापन समितिका अध्यक्ष रामशाह राना लगायतले प्रतियोगिताको सफलताको कामना गर्नु भएको थियो । नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सात सय बढी खेलाडीले भाग लिएको नगरपालिकाको शिक्षा शाखाका अधिकृत सुरेश भट्टले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई पदक, प्रमाण पत्रले पुरुस्कृत गरिने छ । सबै भन्दा बढी पदक जित्ने विद्यालयलाई ट्रफि सहित पुरुस्कृत गरिने छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पुरुस्कृत
नगरपालिकाका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रतियोगिताको उद्घाटनका अवसरमा दोसल्ला ओढाई सम्मान पत्र र नगद रकमले पुरुस्कृत गरिएको छ । नगर प्रमुख रण बहादुर महराले खेलाडीहरुको सम्मान गर्नु भएको हो । सुदूरपश्चिम प्रदेशको टिमबाट सहभागीभै कबड्डी प्रतियोतियोगितमा प्रथम स्थान हासिल गर्ने पूजा धानुक,असोसक जोशी,सृजना धानुक,मनिषा जोशीलाई सम्मान सहित पुरुस्कृत गरिएको छ । यसैगरी, सुदूरपश्चिमको टिममा सहभागी ज्वावलिङ थ्रोमा द्वितिय स्थान प्राप्त गर्ने पूजा साउँद, त्रिपल जम्पमा द्वितिय स्थान प्राप्त गर्ने रेनूका ऐर,रिले दौडमा तृतिय स्थान प्राप्त गर्ने रविना धामी र मालदिभ्समा आयोजना भएको काभा युथ २० महिला च्याम्पीयन सिपमा सहभागीभै काँस्य पदक विजेता स्नेहा ठगुन्नालाई सम्मान सहित पुरुस्कृत गरिएको छ ।
प्रथम हुनेलाई रु सात हजार पाँच सय, द्वितिय हुनेलाई रु पाँच हजार दुई सय ५० र तृतिय हुनेलाई रु तीन हजार सात सय ५० नगद रकमले पुरुस्कृत गरिएको छ । काभा च्याम्पीयनसिपमा सहभागी ठगुन्नालाई रु ११ हजार दुई सय ५० नगद रकमले पुरुस्कृत गरिएको छ । प्रतियोगिताका अवसरमा विद्यार्थीहरुले विभिन्न प्रकारको नृत्य प्रस्तुत गरेका थिए भने स्थानिय महिलाहरुले छलिया नृत्य, राना थारु नृत्य प्रस्तुत गर्नु भएको थियो । प्रतियोगिता उद्घाटन समारोहको सभापतित्व नगर खेलकुद समितिका अध्यक्ष चक्र बहादुर साउदले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन असोक बमले गर्नु भएको थियो । नगर प्रमुख रण बहादुर महराले भलिवल लगायतका खेल सामग्री निर्णकतालाई प्रदान गरी खेलकुदको प्रारम्भ गर्नु भएको थियो । सोही क्रममा निर्णयकता र खेलाडीलाई सपथ ग्रहण गराईएको थियो ।
