पुनर्वासमा प्याब्सन फेस्टिवल भव्य रूपमा सम्पन्न

पुनर्वास, : नेपाल— निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) अन्तर्गत पुनर्वास नगर समितिले आयोजना गरेको “प्याब्सन फेस्टिवल” भव्य रूपमा सम्पन्न भएको छ। पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा २३ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए।

कार्यक्रमका सभापति भानु मेमोरियल बोर्डिङ स्कूलका सञ्चालक नरेन्द्र प्रसाद गौतमले फेस्टिवल माघ १९ गतेसम्म सञ्चालन हुने जानकारी गराउँदै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको बताए। प्याब्सनका जिल्ला सचिव अक्कल रोकायाले यस प्रकारका कार्यक्रमहरू विद्यालयबीच आपसी सहकार्य तथा प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण हुने बताए। जिल्ला उपाध्यक्ष बालकृष्ण ढकालका अनुसार प्याब्सन फेस्टिवलले विद्यार्थीहरूलाई अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गर्न मद्दत पुर्‍याउनेछ।

कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले फेस्टिवलले नगर क्षेत्रका विद्यालयहरूलाई एकआपसमा जोड्ने पुलको काम गर्ने बताए। उनले पुनर्वास नगरपालिकाले शैक्षिक विकास तथा खेलकुद प्रवर्द्धनमा विशेष ध्यान दिइरहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए। बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले विद्यालय तहमा खेलकुद तथा अतिरिक्त क्रियाकलापको महत्व दर्शाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए।

सुदूरपश्चिम प्रदेश एन्फा फुटबल संघका महासचिव काशीराम बोहराले विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न सकिने भन्दै प्याब्सन फेस्टिवलजस्ता कार्यक्रमहरू खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि प्रेरणादायी हुने बताए। खेल संयोजक राजेन्द्र अधिकारीले प्रतियोगितालाई न्यायोचित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जानकारी गराए। प्याब्सन नगर उपाध्यक्ष किशोर तामाङले विद्यालयका विद्यार्थीहरूबीच सकारात्मक प्रतिस्पर्धा र मित्रता कायम राख्ने माध्यमका रूपमा फेस्टिवललाई लिनुपर्ने बताए।

कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रगानसहित विभिन्न जातीय तथा सांस्कृतिक झल्किने पहिरनमा विद्यार्थीहरूले नृत्य तथा नाटक प्रस्तुत गरेर गरिएको थियो। उद्घाटन समारोहमा समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी, पत्रकार, विभिन्न विद्यालयका खेल प्रशिक्षक तथा प्रधानाध्यापकहरूको बाक्लो उपस्थिति रहेको थियो। प्याब्सनका कोषाध्यक्ष हेमबहादुर थापाले कार्यक्रमको सञ्चालन गर्दै फेस्टिवलले शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने बताए।

प्याब्सन फेस्टिवल अन्तर्गत फुटबल, भलिबल, सर्टपुट लगायतका खेलहरू आयोजना गरिएका छन्। आयोजकका अनुसार यस फेस्टिवलले विद्यार्थीहरूको प्रतिभा विकास गर्नका साथै विद्यालयहरूबीच आपसी सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखेको छ। कार्यक्रमलाई सफल बनाउन विभिन्न विद्यालयका शिक्षक, अभिभावक, खेल प्रशिक्षक तथा स्थानीय समाजसेवीहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

ताजा समाचार