लाल बहादुर एस के/पुनर्वास: श्री दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित वृद्धवृद्धा सहायता कक्षको दोस्रो स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ। पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्व नगरप्रमुख जीवनराज थापा, उपमेयर भुलिया कुमारी राना, संस्थाका पूर्व अध्यक्ष चन्द्र बहादुर मगर, पुनर्वास नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, संस्थाका सचिव तथा समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शर्माले वृद्धवृद्धाहरूलाई राज्यबाट प्रदान गरिने मासिक तथा चौमासिक भत्ताका साथै नगरपालिकाको तर्फबाट विभिन्न सम्मान तथा स्वास्थ्य शिविरजस्ता कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी गराउँदै आगामी दिनमा वृद्धवृद्धाहरूको सेवाका लागि थप कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा मन्तव्य राख्दै समाजसेवी यम प्रसाद पौडेलले कालिका सहकारी संस्था एक समय ओरालो लागेको भए पनि व्यवस्थापक शुक्बहादुर तामाङको कुशल नेतृत्वका कारण सुधार हुँदै गएको उल्लेख गर्नुभयो। उहाँले कुनै पनि सहकारी संस्थालाई सफलतापूर्वक सञ्चालन गर्न सक्षम र इमानदार कर्मचारीको मुख्य भूमिका रहने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, सहकारी संस्थाका सञ्चालक तथा बेलौरी नगरपालिकाका प्रतिनिधि यज्ञ कँडेलले पुनर्वास क्षेत्रमा ४९ वटा सहकारी रहे पनि धेरै सहकारी निष्क्रिय रहेको, राष्ट्र बैंकबाट रकम ल्याएर सही सदुपयोग नगर्दा भ्रष्टाचार मौलाएको तथा कतिपय सहकारीहरू झोले टाइपका मात्र रहेको बताउनुभयो। उहाँले नेपाल राष्ट्र बैंकको कमजोरी र लापरवाहीका कारण सहकारी क्षेत्रमा समस्या देखिएको उल्लेख गर्दै यसको सुधारका लागि गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उनले पुनर्वास क्षेत्रमा विभिन्न लघुवित्त संस्थाहरूको बढ्दो प्रवेशले स्थानीय जनताले ठूलो आर्थिक समस्या भोग्नु परिरहेको बताउँदै स्थानीय तहले यसबारे गम्भीर ध्यान नदिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। सहकारीहरूको प्रभावकारी सञ्चालनका लागि नियमन र सहकार्य आवश्यक रहेको बताउँदै उहाँले स्थानीय सरकारलाई पनि आवश्यक कदम चाल्न आग्रह गर्नुभयो।
कार्यक्रमका सभापति तथा संस्थाका सचिव रामसिंह बडुवालको नेतृत्वमा ५० जना जेष्ठ नागरिकलाई कम्बल प्रदान गर्दै सम्मान गरिएको थियो। साथै यस सस्था मा लामो समय संचालक समितिको अध्यक्ष पदमा रहि सस्थालाइ ठूलो योगदान पुर्याउनु हुने आदरणीय चन्द्रबहादुर मगर लाई पनि संमान पत्र सहित संमान गरियोको छ। सहकारी अभियन्ता दिल्लीप्रसाद शर्माले सहकारीहरूको प्रभावकारिता बढाउँदै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै कार्यक्रममा अथिति पुनर्वास सहकारी संस्था व्यवस्थापक एककुमार श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नु भयो थियो ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सस्थाका कोषाध्यक्ष कञ्चन गिरीले कार्यक्रमकाे स्वागत मन्तव्य व्यक्त गर्दै ज्येष्ठ नागरिकहरूको सम्मान समाजको नैतिक जिम्मेवारी भएको बताउनुभयो। उहाँले भन्नुभयो, “वृद्धावस्था केवल उमेरको संख्या मात्र होइन, यो अनुभव, ज्ञान र जीवनका अनगिन्ती मूल्यवान क्षणहरूको संग्रह हो। समाजका सबै पुस्ताले ज्येष्ठ नागरिकहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान र माया दिनु आवश्यक छ।”
गिरीले वृद्धावस्थालाई जीवनको अमूल्य, गरिमामय, र अनुभवसम्पन्न चरणका रूपमा चित्रण गर्दै यस्तो सम्मान कार्यक्रमले ज्येष्ठ नागरिकहरूको आत्मसम्मान अभिवृद्धि गर्नुका साथै युवा पुस्तालाई पनि अभिभावकप्रति जिम्मेवारीबोध गराउने उल्लेख गर्नुभयो। कार्यक्रम सञ्चालन सहकारी संस्थाका व्यवस्थापक दानबहादुर रावलले गर्नुभएको थियो। वृद्धवृद्धाहरूको सम्मान र सेवामा समर्पित यो संस्था आगामी दिनमा अझ प्रभावकारी योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।
