दोधारा । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् । पूर्वानुमानमा आधारित अग्रीम प्रतिकार्य परियोजना अन्तर्गत पूर्वानुमान देखि कार्यान्वयन सम्म सिकाई आदान–प्रदान कार्यक्रममा सहभागीहरुले प्रभावकारी पूर्वसूचनाका कारण गत असारको आरी घोप्टे वर्षा हुदा मानवीय क्षति हुनबाट जोगिएको बताएका हुन् । घरधुरी स्तरीय विपद् जोखिम नक्सांकन तथा विश्लेषणका लागि घरधुरी सेर्वेक्षण परियोजनाले भियामो, नक्सा प्रालि, इन्ष्टिच्यूट अफ हिमालयन रिक्स रिडक्सन (आईएचआरआर), डीसीए र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहजिकरणमा घरधुरी स्तरीय विपद् जोखिम तथा संकटासन्ता विश्लेषण, खुल्ला स्थानको भौगोलिक सूचना प्रणाली (जिआईएस) विधिबाट नक्सांकन साथै घरधुरी स्तरीय विपद् जोखिम व्यवस्थापन योजना निर्माण गरि नगरपालिका र समुदायलाई विपद् पूर्वतयारी, पूर्वकार्य, प्रतिकार्य र सावधानीका बारेमा समयमै सूचना सम्प्रेषण गर्ने कार्य गर्दै आएको छ् ।
भियामो संस्थाका परियोजना व्यवस्थापक श्रृति झाँले परियोजनाले सन् २०२४ को मनसून तथा आरी घोप्टे वर्षाको अवधिमा गरेको कामको समिक्षा गर्दै सफलता, चुनौती साथै सुधार गर्नुपर्ने पक्षहरुको जानकारी संकलन गर्नका लागि यो मानव केन्द्रित डिजाईन कार्यशालाको आयोजना बताउनुभयो । परियोजना व्यवस्थापक झाँले पूर्वसूचनामा केही भाषागत समस्या देखिएको बताउदै आगामी दिनमा स्थानिय भाषालाई प्राथमिकतामा राखेर सूचना सम्प्रेषण गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो । जल तथा मौसम विज्ञान विभागको सूचनालाई समुदायमा पुर्याउन साथै सोको आधारमा पूर्वतयारी तथा प्रतिकार्यका लागि समुदायलाई सक्रिय बनाउनमा परियोजनाले महत्वपूर्ण काम गरेको जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार शाहले बताउनुभयो ।
दुई दिने मानव केन्द्रित डिजाईन कार्यशालामा समुदाय, स्थानीय विपद् व्यवस्थापन समिति, नगरपालिका, विपद् व्यवस्थापन शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा, सुचना प्रविधी शाखा साथै विभिन्न संघ–संस्थाका प्रतिनिधी र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । कार्यशालामा परियोजनाको सफलता, चुनौती साथै सुधार गर्नुपर्ने पक्षहरुको बारेमा छलफल गरिएको थियो ।