गर्जमुनी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको प्रथम बार्षिक साधारण सभा सम्पन्न


झलारी : शुक्लाफाँटा नगरपालिका ५ मा रहेको गर्जमुनी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको प्रथम बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । समितिका अध्यक्ष दिनेश कुमार भण्डारीको सभापतित्वमा सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महरा रहनु भएको थियो । साधारण सभामा सुभकामना मन्तव्य राख्नु हुदै नगर प्रमुख महराले खानेपानी आयोजनाका कार्य अगाडी बढाउनका लागि समन्वयात्मक भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

“संघीय सरकारको लगानीमा निर्माण भैरहेको आयोजना भएकाले यस निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य ज्यूले पनि पहल गरि रहनु भएको छ” उहाँले भन्नुभयो, “नगरपालिकाका तर्फबाट पनि आयोजनाका कार्य छिटो रुपमा अगाडी बढाउनका लागि आवश्यक बजेटको व्यवस्था गर्नका लागि सम्बन्धीत निकाय(मन्त्रालय)मा पत्राचार गर्ने कार्य गरिएको छ ।

चालु आबमा रु ४० लाख बजेट आयोजनाका लागि विनियोजन भएको चर्चा गर्नु हुदै उहाँले अर्को आबमा पानी टंकी, पाईपलाईन विस्तार लगायतका कार्यका लागि बजेट विनियोजन गर्नका लागि आवश्यक पहल गरिने बताउनुभयो ।
नगरपालिका क्षेत्रमा सञ्चालित खानेपानीका आयोजनाहरु आफनै कार्यकालमा पुरा गराउनका लागि हरसंभव प्रयत्न गरिने उहाँको भनाई थियो । एक्लै नगरपालिकाको प्रयत्नले सबै कार्य पुरा नहुने भएकाले सबैले आ आफनो क्षेत्रबाट सहयोग र समन्वयात्मक भूमिका खेल्नु पर्ने उहाँले उल्लेख गर्नु भयो ।
एशियाली विकास बैंक(एडिवि)को सहुलियत ऋण सहयोगमा दोश्रो चरणको कार्य शुरु गर्नका लागि अर्थमन्त्रालयबाट स्वीकृति प्राप्त भएको उहाँले जानकारी दिनु भयो ।

रु १० करोडको ठेक्का प्रकृया मार्फत नगर चक्रपथ निर्माणको कार्य शुरु गरिएको उहाँले बताउनु भयो । नगर कवर्डहल निर्माणको कार्य एक दुई महिना भित्रै पुरा हुन लागेकाले यसले यस क्षेत्रको खेलकुदको क्षेत्रमा नयाँ आयाम थप्ने उहाँले बताउनु भयो । नगर क्षेत्र भित्रका विद्यालयमा सुधारात्मक कार्य अगाडी बढाईएको उल्लेख गर्नु हुदै उहाँले शिक्षकको बिषयगत र तहगत रुपमा दरबन्दी मिलानको कार्य गरिएको बताउनु भयो ।
सबै सामुदायिक विद्यालयमा स्थायी प्रद्यानाअध्यापकको व्यवस्था गरेका छौं उहाँले भन्नुभयो, दुई वर्ष भित्रै त्यसको राम्रो परिणाम देख्न सकिने छ ।

थोरै बजेट र न्युन आन्तरिक राजश्व सङकलन हुदा विकास निर्माणका कार्यलाई सोचे अनुरुप अगाडी बढाउन कठिन रहेको उहाँको भनाई थियो । राजनीतिक दल, समाजसेवी, नागरिक समाज, समाजका प्रवुद्ध व्यक्तिहरुको राय सल्लाह, सुझाव बमोजिम नगर क्षेत्रमा नयाँ योजनाहरु अघि सारिएको कुरामा जोड दिनु हुदै उहाँले विश्वासलाई अविश्वास हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै परिवर्तनको आभास हुने गरी कार्य गरिने बताउनु भयो । समाजसेवी तथा शिवसंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर बोहराले प्रत्येक टोल टोल, घर घरमा सुद्धपेयजल उपलव्ध गराउने सरकारको नीति भएपनि आयोजना समयमै सम्पन्न नहुदा हेण्डपम्पकै पानी पिउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।

उपभोक्ता र उपभोक्ता समिति जागरुक नहुदा आयोजनाले गति लिन नसको निष्कर्श निकाल्दै उहाँले सामुदायिक विकासलाई सहभागीतामुलक रुपमा लैजान नसक्दाको परिणाम आयोजना अलपत्र रहेको बताउनु भयो । आयोजनामा बजेट आएन भन्दा हामीले कति सक्रियतापूर्वक कार्य अगाडी बढाउनका लागि कार्य गरयौं, त्यसको आत्म समिक्षा गर्न जरुरी रहेको बताउनु भयो । वडाका कार्यबाहक अध्यक्ष दिपा कुवँरले खानेपानी आयोजनाका बाँकी कार्य अगाडी बढाउनका लागि वडाबाट पूर्ण रुपमा सहयोग हुने बताउनु भयो । कार्यपालिका सदस्य गणेश विकले लामो समय देखि आयोजना निर्माणको कार्यले गति लिन नसक्दा अन्यौलताको अबस्था सृजना भएको बताउनु भयो ।

नेपाली काँग्रेसका वडा सभापती भरत भण्डारीले आयोजना अन्र्तगत जडान हुने धाराका लागि प्रत्येक उपभोक्ताले घर घरबाट पैशा तिरेपनि आयोजनाले गति नलिदा हेण्डपम्पबाट असुरक्षित पानी थापेर पिउनु पर्ने बाध्यता रहेको बताउनु भयो ।
नेकपा(एमाले)का प्रतिनिधि विर बहादुर कार्कीले पाँच वर्ष अघि निर्माण कार्य शुरु भएको आयोजना ढिलाई हुनुमा न्यून बजेट विनियोजन रहेको बताउनु भयो । उहाँले सुद्ध र स्वच्छ पानी पिउने अधिकार उपभोक्ताको भएपनि त्यो अधिकार कागजमै सिमित रहेको बताउनु भयो । शिव संकर माध्यमिक विद्यालयका पूर्व प्रद्यानाअध्यापक बिष्णुदत्त जोशीले आयोजना निर्माणको कार्यलाई टुङगोमा पुरयाउनका लागि संघ, प्रदेश र स्थानिय गरी तीन तहकै सरकारलाई दवाव दिनु पर्ने बताउनु भयो । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले विसं २०७४ साल देखि आयोजनाको शुरुवात गरिएको भएपनि राज्यपक्षबाट श्रोत उपलव्ध नहुदा कार्य अगाडी बढन नसकेको बताउनु भयो ।

उहाँले समयमै आयोजना सम्पन्न गर्नका लागि नगरपालिकाबाट पहलकदमी हुनु पर्ने बताउनु भयो । साधारण सभाका सभापती दिनेश कुमार भण्डारीले आयोजना सञ्चालन भएको पाँच वर्ष वितेपनि एक वर्ष जग्गा खोज्नमै वितेको बताउनु भयो ।
त्यस पछिका तीन वर्ष कोरोना महामारीले आयोजना कार्य अगाडी बढेनन उहाँले भन्नुभयो, रु २२ लाख बजेटमा बोरिङ गाडने कार्य संगै पर्खाल निर्माण, कार्यालय भवन निर्माणको कार्य भएका छन ।यस वर्ष रु ४० लाख बजेट विनियोजन भएर आएको उल्लेख गर्नु हुदै उहाले कार्य सम्पन्न गर्नका लागि सबैको सहयोगको अपेक्षा राखिएको बताउनु भयो । समितिलाई पूर्णता दिएर आयोजनाका बाँकी कार्य पुरा गर्नका लागि तत्परताका साथ अगाडी बढने उहाँको भनाई थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img