कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ का शताब्दी पुरुष पंण्डित ज्योतिषाचार्य बिरा अबस्थीलाई बाजागाजा सहित नगर परिक्रमा गराईएको छ । एक सय वर्ष पुगेका जोतिषाचार्य अबस्थीलाई पञ्चेबाजा सहित रथमा राखेर नगरपरिक्रमा गराईएको हो । बैतडीको सुनर्या गाउँपालिका ६ शंकरपुर खटाली गाउँमा उहाँको बिसं १९८१ मङ्सिर १७ गते जन्म भएको हो । उहाँको जन्मोत्सवका अवसरमा नगर परिक्रमा पश्चात स्थानिय मन्दिरमा कार्यक्रमको आयोजना गरी अभिनन्दन गरिएको छ । नगर क्षेत्रका शिक्षक, राजनीतिकर्मी, धार्मिकजन, परिवारका सदस्य, नगरबासी, आफन्जनले अबस्थीलाई फुलमाला, टीका र दोसल्ला ओढाएर सम्मान गर्दै आर्शिवाद लिएका छन । सो अबसरमा चार सय बढी जनालाई प्रसादका रुपमा खिर पुरी लगायतका पकवान बनाएर खुवाईएको छ ।

अबस्थी सुदूरपश्चिम क्षेत्रमा ज्योतिषाचार्यका रुपमा परिचित छन । उहाँले आफैंले पञ्चांग पात्रो तयार गर्दै आएका छन । पण्डित मनिराम वस्तीका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका अबस्थीले बुवा बाजे संग ज्योतिषार्चाय सम्बन्धी ज्ञान हासिल गरेका हुन । विसं २०३२ सालमा उहाँ बैतडीको शंकरपुर गाउँपञ्चातका प्रधानपञ्चमा समेत निर्वाचित भएका थिए ।
तत्कालीन डोटी राज्य अन्र्तगत बसोवास गर्ने खस, आर्य समाजको रितिरिवाज, चालचलन, भेषभूषा, आभूषण तथा वास्तुकला, पुरातत्वीक ज्ञान भएका व्यक्तिका रुपमा उहाँ परिचित छन । डोटी राज्यमा भारतीय आक्रान्ता मइजुद्दीनले मठ मन्दिरमा गरेको लुट, धर्मान्तरण लगायतका कार्य बारे उहाँ बृतान्त सुनाउनु हुन्छ ।

धर्म जोगाउनका लागि र प्राचिन शिलालेखहरु जोगाउनका लागि डोटी राज्यका विभिन्न ठाउमा गएर बसेका जातजाती बारे उहाँलाई राम्रो ज्ञान छ । सुदूरपश्चिम क्षेत्रका जातजातीहरुको वंशावली, धर्म संस्कृतिका ज्ञाताका रुपमा उहाँलाई लिने गरिन्छ । तेह्रौं शताब्दीका वस्ती वंशजका ज्योतिष पण्डित चुडामणी भट्टाचार्य(वस्ती) देखि गणना गर्दा उहाँ १२औं पुस्ताको रहेको उहाँका नाति हेमराज अबस्थी बताउनु हुन्छ । उहाँका छ छोरा र छ छोरी गरी १२ सन्तानबाट उहाँ पछिका चार पुस्तामा एक सय पाँच सन्तान रहेका छन । विसं २०४५ सालमा बैतडीबाट अबस्थी परिवार सहित तराई झरेका हुन । नगर परिक्रमा गरी अभिनन्दन गरिएकोमा उहाँले खुसि व्यक्त गर्नु भएको छ ।







