कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका ६ वनसमिति बजारमा दुई वर्ष अघि निर्माण गरिएको सौचालय प्रयोगविहीन अबस्थमा रहेको छ । रु पाँच लाखको लागतमा ठेक्का प्रकृया मार्फत निर्माण गरिएको सौचालयमा टंकी राखिएको भएपनि पानीको व्यवस्था नहुदा प्रयोगमा आउन नसकेको वडा अध्यक्ष दान सिंह ऐरले बताउनु भयो । “पानीको व्यवस्था गर्नका लागि नल्कामा जडान गरिएको विद्युतीय मोटर, नल्का चोरी भएपछि निर्माण भएपनि सौचालय प्रयोगमा आउन सकेको छैन” उहाँले भन्नुभयो, “सौचालयमा रङगरोगनको कार्य गरिएको छैन, सौचालय सम्म पुग्ने बाटो छैन, घेरवार छैन, निर्माण मात्रै गरिएको छ, प्रयोगमा ल्याउन सकिएको छैन ।”
वडा संगै थोरै बजेट हुदा सौचालय प्रयोगमा ल्याउन नसकिएको उहाँले बताउनु भयो । नगरपालिका संग पटक पटक सौचालय सञ्चालनमा ल्याउनका लागि बजेटको व्यवस्था गर्नका लागि भन्दै आएपनि बेवास्ता हुदै आएको उहाँको भनाई रहेको छ । पुरुष र महिला दुवैका लागि प्रयोग गर्न मिल्ने गरी सौचालय निर्माण गरिएको छ । पूर्व वडा अध्यक्ष जगता रानाले सौचालयलाई तत्काल प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । बजारका बासिन्दा संगै यात्रुहरुले सास्ती खेप्नु परेकाले निर्माण गरिएको सौचालयलाई प्रयोगमा ल्याउनका लागि नगरपालिकाले पहल गर्नु पर्ने उहाँको भनाई रहेको छ ।
वनसमिति बजारको पूर्व पश्चिम राजमार्ग संगै जोडिएको स्थानमा सौचालय निर्माण गरिएको छ । सार्वजनिक सौचालयको अभावमा यात्रुहरुले नजिकैको वन क्षेत्रमा दिशापिशाव गर्नका लागि जानु पर्ने बाध्यता छ । वनसमिति बजार क्षेत्रका बासिन्दाले निकै तामझामका साथ सौचालयको शिलान्यास गरिएको भएपनि निर्माण भएको दुई वर्ष सम्म पनि सञ्चालनमा ल्याउन नसक्नु विडम्बना भएको बताउनु हुन्छ ।