झलारी : लैंङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानको सोमवार शुक्लाफाँटा नगरपालिकामा सुभारम्भ गरिएको छ । कार्यवाहक नगर प्रमुख लाल बहादुर ऐरको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख ऐरले हिंसामुक्त समाजको निर्माण गर्नका लागि महिला पुरुष दुवैले हातेमालो गरेर अगाडी बढनु पर्ने बताउनु भयो । उहाँले लैङ्गिक रुपमा गरिने हिंसाले मानसिक समस्या निम्त्याउने भएकाले यसको अन्त्यका लागि सबैले प्रण गर्नु पर्ने बताउनु भयो । वडा नं ९ का वडा अध्यक्ष रमेश बहादुर ऐरले समाजमा विद्यमान हिंसा अन्त्य गर्नका लागि सबैको सहयोगको खाँचो रहेको बताउनु भयो ।

पुरुषको तुलनामा महिला माथि बढी हिंसा हुने गरेको उल्लेख गर्नु हुदै उहाँले यसका लागि सचेतनाका माध्यमबाट न्यूनिकरण गरिनु पर्ने बताउनु भयो । हिंसा जस्तो सुकै भएपनि समाज र परिवारका लागि राम्रो नभएको उहाँको भनाई थियो । लैंङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानले लिङ्गका आधारमा हुने हिंसा र विभेद न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नु भयो । नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै लैंङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानको उद्देश्य बारे प्रकास पार्नु भएको थियो ।
एनसिइ नेपालका जिल्ला अध्यक्ष मधु बोहराले लैंङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान ३४ वर्षमा पुग्द पनि महिला माथिका हिंसाका घटनमा कमी हुन नसकेको प्रति चिन्ता प्रकट गर्नु भयो ।

उहाँले समतामूलक समाजको निर्माण नहुदा सम्म हिंसाका घटना न्यूनिकरण गर्न गाह्रो रहेको बताउनु भयो । हिंसा पीडितलाई न्याय दिनका लागि सबैले एकै ठाउमा उभिनु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट, कार्यपालिका सदस्य, वडा सदस्य, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । लैंङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नगरपालिका परिसरबाट झलारी बजार परिक्रमा गर्दै सचेतनामूलक रयालीको आयोजना गरिएको थियो ।







