महेन्द्रनगर : उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगकाे टाेलिले कञ्चनपुरमा सराेकारवालासँग छलफल गर्ने भएकाे छ । आयोगकाे टाेलिले यहि मंसिर १० गते साेमबार कञ्चनपुरमा आर्थिक क्षेत्र सुधारका लागि आवश्यक सुझावसहित छलफल गर्न लागेकाे हाे । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत डमरु प्रशाद पराजुलीले आयोगकाे टाेलि छलफल तथा सुझाव संकलनका लागि कञ्चनपुर आउने बताए । उनका अनुसार कार्यक्रम विभिन्न क्षेत्रका जानकारहरुलाई छलफलमा सहभागी हुन आमन्त्रण गरिएको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, ललितपुरको पत्राचार अनुसार राजस्व कार्यालयले सहभागीताका लागि समन्वय गरिरहेकाेछ । आयोगले अर्थतन्त्रका समग्र पक्षको अध्ययन गरी विद्यमान आर्थिक समस्या समाधान गर्दै समतामुलक, दीगो, उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक उत्पादनशील र दीगो अर्थतन्त्रको निर्माण, गरिवी निवारण एवम् समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारको खाका ६ (छ) महिना भित्र पेश गर्नेगरी काम सुरु गरेकाे छ ।

साेहि अनुरुप स्थानीय स्तरमा राय/सुझाव संकलनको लागि सरोकारवाला व्यक्ति, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी, पर्यटन व्यवसायी, शैक्षिक संस्थाका प्रतिनिधलगायत विभिन्न संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिन लागिएको हाे ।
साेमबार बिहान १०:३० मा उद्योग वाणिज्य संघ कञ्चनपुरकाे सभा हलमा हुने छलफल तथा अन्तर्क्रिया कार्यक्रम हुने सरोकारवाला अन्य व्यक्ति तथा संस्थाहरुलाई उपस्थितिका लागि अनुरोध गरिएकाे छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा विज्ञहरूको पाँच सदस्यीय आयोग गठन गरेको छ।

आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवाली, अर्थविद डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन्। आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरूसँग परामर्श समेत गर्नेछ।






