माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटीको बैठक सम्पन्न

झलारी : नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटीले बुधबार छलारीमा बिस्तारै बैठक सम्पन्न गरेको छ। आगामी दुई महिने वडा स्तरीय कार्यक्रमका लागि विभिन्न एजेन्डाहरुमा निर्णय गर्दै बैठक सम्पन्न गरेको पार्टीले जनाएको छ।
दुई महिने पार्टी सुदृढीकरण तथा विविध अभियानका लागि जिम्मेवारी पाएका केन्द्रीय सदस्य गोविन्द बिकको प्रमुख आतिथ्यतामा शुक्लाफाटा नगर कमिटीको बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता नगर कमिटी अध्यक्ष नरेन्द्र चौधरीले गर्नुभएको थियो। बैठकले आगामी दुई महिने वडा स्तरीय विशेष पार्टी कार्यक्रम गर्ने तय गरेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय तथा प्रदेश कमिटीले वडास्तरीय कार्यक्रम गर्न दिइएको जिम्मेवारीहरूका विषयमा छलफल तथा जिम्मेवारी बाँडफाँट गरिएको नगर कमिटी सचिव दीपकराज भट्टले बताउनुभयो ।

भट्टका अनुसार प्रदेश र केन्द्रबाट वडास्तरीय विभिन्न पार्टी सुदृढीकरणका कार्यक्रममा सहभागी हुन तोकिएको जिम्मेवारी अनुसार काम गर्ने निर्णय गरिएको र थप नगर पदाधिकारीहरूलाई नगर कमिटीले जिम्मेवारी तोकी विभिन्न वडामा खटाएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका विकले वर्तमान नेपालको राजनीतिक अवस्था भ्रष्टाचारीहरूको शासनले जनताहरू आजित भएकाले नेकपा माओवादी केन्द्रले बिउँझिनुपर्ने अवस्था आएको बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा केन्द्रीय सदस्य गोविन्द विकले आगामी दिनहरूमा जनताका पक्षमा र सरकारले गरेका भ्रष्टाचार तथा अनैतिक क्रियाकलापको फण्डाफोर गर्ने कार्यक्रमहरु गर्दै जाने बताउनुभयो ।

बैठकको सञ्चालन नगर इन्चार्ज ईश्वर सुनारले गर्नुभएको थियो। बैठकमा शुक्लाफाटा नगरपालिका भित्र रहेका पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य तथा पदाधिकारी, जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्य, नगर पदाधिकारी, वडा पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

ताजा समाचार