नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको शताब्दी जन्मोत्सव झलारीमा सम्पन्न


 झलारी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक नेता नरबहादुर कर्माचार्यको शताब्दी जन्मोत्सव झलारीमा मनाइएको छ। नेकपा (माओवादी केन्द्र) शुक्लाफाँटा नगर कमिटीको आयोजनामा आयोजित यस विशेष कार्यक्रम वैचारिक बहसमा केन्द्रित रहेको थियो। शुक्लाफाँटा नगर कमिटीका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।

प्रमुख वक्ताका रूपमा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक तथा सुदूरपश्चिम प्राध्यापक सङ्घका केन्द्रीय सचिव खगेन्द्र जोशीले नरबहादुर कर्माचार्यले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानबारे चर्चा गर्नुभयो। उहाँले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि कर्माचार्यले खेलेको महत्वपूर्ण भूमिका स्मरण गर्दै, उहाँको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो। कार्यक्रममा केन्द्रीय सदस्य गोविन्द बिक, प्रदेश कमिटी सदस्यहरू, जिल्ला तथा नगर कमिटीका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रमुख अतिथि टेकेन्द्र भट्टले वर्तमान नेपालमा कम्युनिस्ट आन्दोलनका चुनौती र अवसरबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो। नरबहादुर कर्माचार्यको संक्षिप्त जीवनी नरबहादुर कर्माचार्य नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेताहरू मध्ये एक हुनुहुन्थ्यो।

उहाँले २००६ सालमा पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। नेपाली समाजमा समानता, न्याय र स्वतन्त्रताको स्थापनाका लागि उहाँले लिएको दृढ अडानले उहाँलाई एक दृढ राजनैतिक व्यक्तित्वका रूपमा चिनायो। उहाँको राजनीतिक जीवन संघर्ष र बलिदानले भरिएको थियो, जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई एक सुदृढ आधार प्रदान गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img