झलारी : कञ्चनपुरको बनहरा शिविरमा बसोवास गर्दै बासिन्दाको आज निःशुल्क रुपमा स्वास्थ्य चेकजाँचको कार्य गरिएको छ । शुक्लाफाँटा नगरपालिकाका पूर्व नगर प्रमुख दिल बहादुर ऐरको आग्रहमा दीपनगर आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले शिविरमै पुगेर ६० जनाको स्वास्थ्य चेकजाँचको कार्य गरेका हुन ।

शिविरका बासिन्दामा भाइरल ज्वरो, निमोनिया, आँउ, हात खुट्टा झमझमाउने, स्वासप्रश्वासको समस्या, छाला सम्बन्धीका समस्या देखा परेपछि स्वास्थ्यकर्मीलाई शिविरमै उपचारका लागि आग्रह गरिएको पूर्व नगर प्रमुख ऐरले बताउनु भयो । बालबालिका देखि जेष्ठ नागरिक सम्मको स्वास्थ्य चेकजाँचको कार्य गरी स्वास्थ्य केन्द्रबाट उपलव्ध हुने औषधी निःशुल्क रुपमा वितरणको कार्य गरिएको ऐरले जानकारी दिनु भयो ।

“ शिविरको अबस्था बुझनका लागि केही दिन अघि पूर्व नगर प्रमुख पुग्नु भएको थियो” शिविरका बासिन्दा प्रकास सावदले भन्नुभयो, “औषधोपचार गर्न नसक्दा धेरै जना विरामी परेको कुरा सुनायौं, त्यस पछि स्वास्थ्यकर्मीलाई शिविरमै ल्याएर उपचारमा सघाउ पुरयाउनु भएको छ ।” धेरै वर्ष पछि शिविरमै पुगेर स्वाथ्यकर्मीले स्वास्थ्य परिक्षणको कार्य संगै निःशुल्क औषधी र स्वास्थ्य परामर्श दिनु भएको उहाँको भनाई रहेको छ ।
स्वास्थ्यकर्मीले व्यक्तिगत सरसफाई संगै शिविर क्षेत्रको बसोवास रहेको क्षेत्रमा सरसफाई गर्नका लागि सल्लाह दिएको उहाँले बताउनु भयो ।







