डिल्लीराज पन्त /कञ्चनपुर, :बिहीबारदेखि अबिरल रुपमा परिहेको बर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरी स्थित चार लेन पुलको पोखरीको गाईडबण्ड(तटबन्ध) कटानी गरिरहेको छ । महाकाली नदीमा शुक्रबार ४ लाख ६१ हजार क्युसेक पानी बगेको थियो, उतिबेला सानदारसंग बगेको काली शनिबार घटेर १लाख ६० हजार क्युसेक भएको अवस्थामा चार लेन पुलको पोखरीको गाईडबण्ड(तटबन्ध) कटानी गरिरहेको हो ।
भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले साँझ ५ बजेदेखि तटबन्ध कटानी शुरु गरिएको बताए । ‘ठुलो महाकालीमा त्यत्रो पानी आउँदा केही भएन, आज घटिरहेको अवस्थामा काटिरहेको छ, ‘उनले भने, ‘यो काट्नेक्रम जारी रहे कटानी गरेर पहुँचमार्गसम्मै आएर बस्तीतिर जाने खतरा छ ।’महाकाली पुल आयोजना कार्यालयका सव ईन्जिनियर दुर्गादत्त अवस्थीले नदीमा पानीको सतह घटिरहेका बेला सिङ्गै महाकाली एकै स्थानबाट बग्दा तटबन्ध कटानी गरिरहेको छ । उनका अनुसार शनिबार साँझ ७ बजेसम्ममा झण्डै २सय मिटर तटबन्ध कटानी भएको छ ।
‘पोखरीको गाईडबण्ड पुरै भत्किएको छैन, एकतर्फीतर्फ कटानी गरिहेको छ, ‘उनले भने, ‘हाकिम सापले सिधै निर्माण कम्पनीलाई फोन गरेर यथाशिघ्र रोकथामका लागि निर्देशन दिनुभएको छ, निर्माण कम्पनीले अहिले रोकथाम गरिरहेको छ ।’ ०७४ देखि कुमार श्रेष्ठ सिएफईसी जेभीले ३अर्ब, ६६करोड ५लाख, ६६ हजार रुपैयामा पुल निर्माण गरिरहेको छ । तर, स्थानीयहरुले कमसल खालको तटबन्ध निर्माण हुँदा नदीको सतह घट्दा पनि तटबन्ध कटानी भईरहेको टिकाटिप्पणी गरिरहेका छन । विगतमा पनि तटबन्ध भत्किएको भन्दै स्थानीयले अहिले पनि भत्किएको भन्दै आक्र्रोस व्यक्त गरिरहेका छन ।