कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह रावललाई अभिनन्दन गरिने भएको छ । २९ भदौँमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले रावललाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम छ । सुदूरपश्चिम र कर्णालीको भाषा, साहित्य र सङ्गीतलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ‘स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव’ को आयोजना गरिएको र सोही कार्यक्रममा साहित्यकार÷इतिहासकार रावललाई अभिनन्दन गरिने आयोजक संस्था सांस्कृतिक समाज नेपालका अध्यक्ष तथा कलाकार रामप्रसाद अवस्थीले जानकारी दिए । प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।कार्यक्रममा विभिन्न विधाबाट पहिचान बनाउन सफल सुदूरपश्चिम र कर्णालीका अन्य स्रष्टाहरूलाई पनि अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य समेत रहेका रावलको अंग्रेजी भाषामा लेखिएको ‘डोटी राज्यको मध्यकालीन इतिहास’ नामक पुस्तक चर्चित छ । त्यसको नेपाली भर्सन समेत प्रकाशनको तयारीमा छ । यो पुस्तकले छिमेकी देश भारतको उत्तराखण्ड राज्यमा पनि चर्चा बटुलेको छ । यस्तै उनको ‘द इकोज पावर अफ प्यासन’ अर्को कविता संग्रह हो । रावलले सयौंको संख्यामा बिभिन्न जर्नलहरुमा लेख प्रकाशित गराइसकेका छन् । केही कृति प्रकाशनको तयारीमा छन् ।
राजनीति र साहित्यमा समानान्तर ढंगले सक्रिय रावलसहित अन्य विधाका ब्यक्तित्वहरुलाई पनि सम्मान र अभिनन्दन गरिने आयोजकले जनाएका छन् । चलचित्र क्षेत्रबाट बिराज भट्ट, खेलकुदबाट दीपक विष्ट, लाइभ देउडाबाट नेत्रराज शाही, पर्दा पछाडिका नायकका रुपमा निर्देशक भीम थापा, पत्रकारिता क्षेत्रबाट वसन्तप्रताप सिंह, गायन क्षेत्रबाट सुदूरपश्चिमका लाल बहादुर धामी र कर्णालीका टिका पुन तथा सुरेश शाही सम्मानित हुँदै छन् ।

मौलिक लोक सङ्गीत बारे कलम चलाएको भन्दै पत्रकार भानुभक्त आचार्य र कमल प्रसाद चौलागाईलाई पनि सम्मान गर्न लागिएको छ । कार्यक्रममा पञ्चे बाजा, छलिया नृत्य, र देउडा गायनका साथै राना थारुको संस्कृति झल्किने प्रस्तुति समेत राखिएको अध्यक्ष अवस्थीले बताए ।अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘अघिल्लो वर्षको कार्यक्रम निकै राम्रो भएपछि हामीलाई यस वर्ष पनि आयोजना गर्न उत्साह मिलेको हो । अब प्रत्येक वर्ष हामी लोक संस्कृति चिनाउने गरि कार्यक्रम आयोजना गर्छौ ।’ टिका पुन, लालबहादुर धामी, सुरेश शाही, छत्र शाही, सुप्रीम मल्ल, इस्बु सञ्जय लगायतको मौलिक प्रस्तुति पनि कार्यक्रममा रहने छ ।

राजधानीबाट सुदूर–कर्णालीको संस्कृति विश्वव्यापीकरण गर्ने र मौलिक संस्कृति जगेर्नाका लागि संस्था स्थापना गरिएको थियो । संस्था स्थापनादेखि नै विभिन्न सिजनशील कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । अघिल्लो वर्ष भाद्र ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमै कार्यक्रमको आयोजना गरिएको थियो । हालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लामो समयदेखि साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, साहित्यकार आर.डी.प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी,कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी र सङ्गीता रोकाया लगायतलाई अभिनन्दन गरिएको थियो ।
