कञ्चनपुर : नेपाली महिलाको मौलिक पहिरन गुन्यो चोली हराउँदै गएको हुँदा गुन्यो चोलीको जर्गेना गर्ने मनसायले साहसी महिला शुशिला उप्रेती तिवारीले बुलेट मोटर साइकलमा मेची देखि महाकाली यात्रा गरेकी छन् । तिवारीले भदौं ५ गते मेचीको बुद्धशान्ति गाउँपालिका बाट बिहान ९ बजे शुरु गरेको यात्रा भदौं ९ गते महाकालीको कञ्चनपुर जिल्ला स्थित गड्डाचौकीमा नेपाली झण्डा गाडी आफ्नो यात्रा सफल पारेकी हुन् ।
उनले भनिन् ‘हाम्रो परापूर्वक काल देखि चलिआएको हाम्रो पहिरन गुन्यो चोली लोप हुन लागेकोले यसको जगेर्ना हामी सबैले गर्नु पर्छ । यसैको लागि मैले मेची देखि महाकाली सम्म गुन्यू चोलो लगाएर मेची महाकाली यात्रा गरेकी हु, हाम्रो संस्कृति हाम्रो पोसाक हाम्रो धरोहर हुन त्यसैले यसलाई जगेर्ना गर्नुको साथै सबैले प्रयोगमा ल्याउनु पर्छ ।’ झापा बुद्धशान्ति ३ बस्ने तिवारी साहसी महिलाको रुपमा चिनिन्छन् । उनले मोटरसाइकल बाट गरिने विभिन्न साहसी खेलमा भाग लिएकी छन् । एउटा महिलाको लागि यो वर्षाको समयमा बुलेट मोटरसाइकलमा मेची–महाकालीको यात्रा गर्नु सामान्य कुरो होइन् ।
मेची–महाकाली यात्राको टिमलाई कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गर्नुको साथै कञ्चनपुरको विभिन्न क्षेत्रको अवलोकन गराएकी थिइन् । श्रेष्ठले भनिन्, हामी आधुनिक देखिने होडमा, हाम्रो संस्कृति र हाम्रो पहिचान कतै हराउँदै गएको होकि यसको जगेर्ना गर्नको लागि वहाँको मेची–महाकालीको यात्रा सराहनीय छ ।’
तिवारीलाई यस मेची-महाकाली यात्रामा सहयोग गर्न २ जना मोटर साईकल र ४ जना स्कारपियो गाडीमा आएका थिए । सहयोगीहरुमा मनिश मैनाली, कुशल कार्की, विशाल तिवारी, गणेश सापकोटा, ईन्दिरा सापकोटा र केदार सापकोटा रहेका छन् ।