कञ्चनपुर ः कृष्णपुर नगरपालिका ६ बन्जरीयामा रहेको महाकाली सामुदायिक वन उपभोक्ता समुहको शनिवार १७ औं साधारण सभा सम्पन्न भएको छ ।सामुदायिक वनका अध्यक्ष विर बहादुर राजवंशीको अध्यक्षतमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिमा नगर प्रमुख हेमराज ओझा रहनु भएको थियो । प्रमुख अतिथि ओझाले पानसमा बत्ति बालेर साधारण सभाको उद्घाटन गर्नु भएको थियो ।
साधारण सभाको विशिष्ठ अतिथिमा वडा अध्यक्ष बाबुराम चौधरी, पिपरैया सव डिभिजन वन कार्यालयका प्रमुख नविन सिंह रहनु भएको थियो । कार्यक्रममा सामुदायिक वनका अध्यक्ष राजवंशीले आब ०८१÷८२ को अनुमानित आय–व्यय रु ४६ लाख ५६ हजार तीन सय २१ को कार्ययोजना सहितको विवरण पेश गर्नु भयो । प्रस्तुत विवरण माथि छलफल पश्चात सामुदायिक वनका उपभोक्ताले आय व्ययको विवरण पारित गरेका छन ।साधारण सभामा मन्तव्य राख्नु हुदै नगर प्रमुख ओझाले सामुदायिक वनमा माछा पोखरी, जडिबुटी खेती, घरवास(होमस्टे) सञ्चालन संगै पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनु पर्ने बताउनु भयो ।
“परम्परागत रुपमा घाँस, दाउरा र काठलाई मात्रै सामुदायिक वनले आम्दानीका श्रोतका रुपमा लिदै आएको छ” उहाँले भन्नुभयो, “सामुदायिक वनको संभाव्यता अध्ययन गर्दै अतिरिक्त आम्दानीका श्रोतहरुको खोजी गर्नु पर्छ, त्यस पछि मात्रै दीगो विसका हुन सक्छ ।” रुखलाई मात्रै आम्दानीका रुपमा लिने हो भने वनमा रहेको रुखहरु काटदै जाँदा नरहन पनि सक्छन । त्यसैले वन ऐनको परिधिमा रहेर दिर्घकालीन योजनाहरु तयार गरी कार्यान्वयनमा ल्याउन जरुरी भएको उहाँको भनाई रहेको छ ।उहाँका अनुसार नगरपालिकाले सामुदायिक वनहरु संग सहकार्य गरी जडिबुटीका रुपमा प्रयोग हुने हर्रो, बर्रो, अमला लगायतका विरुवा रोपेर नमूना प्लट तयार गर्ने योजना बनाएको छ । त्यसका लागि विरुवा सङकलनको कार्य गरिएको छ ।
वन संरक्षणका लागि सामुदायिक वन संग साझेदारी गरी मेसवायर जडान गर्नका लागि कार्य अगाडी बढाईने उहाँले बताउनु भयो ।“मेसवायर जडानको कार्यले वन्यजन्तु र घरपालुवा जनावरलाई स्थानिय बासिन्दाको खेतवारीमा पस्नबाट रोक्न सकिन्छ” उहाँले भन्नुभयो, “त्यति मात्रै नभएर मानव र जनावर विचको द्वन्द्वको पनि अन्त्य हुन्छ ।” चोरी शिकारी गर्नेहरुलाई अबैध रुपमा वन प्रवेस गर्नबाट रोक्न सके बन विनास हुनबाट जोगाउन सकिने धारणा उहाँले व्यक्त गर्नु भयो ।उहाँँका अनुसार चोरी शिकारीमा संलग्नहरुले जनावर मार्ने कार्य गर्छन । वनमा अनावश्यक रुपमा आगो लगाई दिदा वन डढेलोको समस्या सृजना हुन्छ । अबैध रुपमा रुख कटानी गरी तस्करी गर्नमा चोर शिकार गर्नेहरुनै बढी रुपमा लागेको देखिएका छन ।
वडा अध्यक्ष बाबुराम चौधरीले सामुदायिक वनको साझेदारीमा वडाका चार ठाउमा पानीघाट (घटुवा) निर्माण गर्ने योजना अघि सारिएको बताउनु भयो । बञ्जरिया, बालुवाफाँटा, र सिंहपुरमा घटुवा बनाइने उल्लेख गर्नु हुदै उहाँले यसका लागि सामुदायिक वन संग छलफल भैरहेको बताउनु भयो । पिपरिया सव डिभिजन वन कार्यालयका प्रमुख नविन सिंहले वन संरक्षणमा उपभोक्तहरुले पुरयाएको योगदानको चर्चा गर्नु हुदै उहाँले वैज्ञानिक वन कार्यक्रम लागु भएका सामुदायिक वनले चार वर्ष देखि काठ, दाउरा सङकलन गर्न नपाउदा आपूर्तिबाट काम चलाउनु परेको बताउनु भयो ।सामुदायिक वनका पूर्व अध्यक्ष जीत बहादुर करयाकंग्रहवाले सामुदायिक वनले काठ दाउरा सङकलन गर्न नपाउदा निकै समस्या झेल्नु परेको बताउनु भयो ।
विदेशबाट अरर्वौ रुपैंयाको काठ आयात हुने गरेको उल्लेख गर्नु हुदै उहाँले वन क्षेत्रमा रहेको ढलापडा काठ उपभोक्ताले पाउन नसकेको बताउनु भयो । तत्काल काठ दाउरा पाउने गरी सरकारले निर्णय गर्नु पर्ने उहाँको भनाई रहेको छ ।
गरिव, विपन्न परिवारको आयस्तर माथि उकास्नका लागि सामुदायिक वनले टोल समिति गठन गरी घुम्ती कोष मार्फत व्यवसायीक कार्यका लागि रकम लगानी गरिदै आएको सामुदायिक वनका अध्यक्ष राजवंशीले बताउनु भयो । उहाँले नगरपालिका संग हातेमालो गरी वन विकास र सामाजिक विकासका कार्यमा सघाउन तत्पर रहेको उल्लेख गर्नु भयो ।
साधारण सभामा स्वागत मन्तव्य सामुदायिक वनका उपाध्यक्ष निसान्त खड्काले गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन सामुदायिक वनका आन्तरिक लेखा परिक्षण संयोजक दिनेश बहादुर कडालले प्रस्तुत गर्नु भएको थियो ।साधारण सभामा वडा सदस्य आशपती राजवंशी, सामुदायिक वनका पूर्व अध्यक्ष जित बहादुर करियाकंग्रहवा, पूर्व सल्लाहकार संयोजक धन बहादुर मल्ल, पूर्व अध्यक्ष मेघ बहादुर कडाल, कार्यसमितिका पदाधिकारी,सल्लाहकार, लेखासमिति, अनुगमन समिति, टोल समितिका पदाधिकारी र उपभोक्ता लगायतको सहभागीता रहेको थियो ।